logo

  • २६ असार २०८२, बिहीबार | Thu, 10 Jul 2025

  •      Listen Radio Live

    गौमुखी गाउँपालिकामा २१७ प्रजातीका ४ हजार ५ सय बढि चरा

    गौमुखी गाउँपालिकामा २१७ प्रजातीका ४ हजार ५ सय बढि चरा

    प्यूठानको गौमुखी गाउँपालिका क्षेत्रभित्र २ सय १७ प्रजातीका चरा रहेको पाइएको छ । गौमुखी गाउँपालिका र हिमाली अनुसन्धान केन्द्रको समन्वयमा गरीएको अध्ययनले गाउँपालिका भित्र २ सय १७ प्रजातीका ४ हजार ५ सय ३८ वटा चराहरुको अभिलेख गरिएको हो ।
    समुन्द्री सतहबाट १ हजार १ सय मिटर ठुलाबेसीदेखी ३ हजार ३ सय मिटर नांगी लेखसम्म गरिएको अभिलेखका क्रममा २ सय १७ प्रजातिका चरा फेला परेका हुन् । २०८१ असोज र २०८२ बैशाखमा गरिएको चरा अभिलेखको सार्वजनिकिकरण गर्दै चरा बिज्ञ कृष्ण भुषालले मंगोलियाबाट जाडो याममा बसाई सरी आउने विश्वकै दुर्लभ गोमायु चिल र नेपालको आकाश हुँदै दक्षिण जाने क¥याङ–कुरुङ सारस पनि अभिलेख गरेको जानकारी दिए ।
    बि.सं. २०८१ असोजको सर्वेक्षणमा गोमायु चिल र क¥याङ–कुरुङ सारस तथा २०८२ सालको बैशाखमा गृष्मकालीन आगन्तुक चराहरु आठ प्रजातिका कोइली, दुई प्रजातिका मुरलीचरा, स्वर्गचरी, सुनचरी, कस्तुरा, चाँचरजस्ता चरा भेटिएको जानकारी दिए । ती चराहरु नेपालमा बच्चा कोरल्न बसाइँ सरी आउँने गरेको अनुसन्धानकर्ता चरा बिज्ञ कृष्ण भुसालले जानकारी दिए । अध्ययनको क्रममा भेटिएका २ सय १७ प्रजातिका चराहरुमध्ये ९९ प्रजातिका चरा संरक्षण महत्व छन् । संरक्षण महत्व भएका चराहरु गौमुखी क्षेत्रमा रहेकाले गौमुखी क्षेत्र चराको लागि अत्यन्तै महत्वपूर्ण क्षेत्र भएको उनले बताए । ‘यस क्षेत्रको पनि संरक्षणको खाचो छ,’उनले भने,‘चराचुरुंगी संगै थुर्पै अन्य जीवजन्तुको पनि बासस्थान गौमुखी क्षेत्र रहेछ ।’
    यस क्षेत्रमा नेपालका ९ प्रजातिका संरक्षित चरामध्ये दुई प्रजाति चिर कालिज र मुनाल पाइन्छन् ।


    त्यसैगरी विश्वमै दुर्लभ पाँच प्रजाति डङ्गर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, गोमायु महाचिल र चिर कालिज पनि अभिलेख गरीएको चरा बिज्ञ भुसालले जानकारी दिए । राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा रहेका १७ प्रजाति, ४ प्रजाति सीमित क्षेत्रमा मात्र पाइने, ६९ प्रजाति खास प्रकारको भूगोलमा मात्र पाइने र ३१ प्रजाति साइटिस सूचीमा सूचीकृत चराहरु यस क्षेत्रमा भेटिनुले गौमुखी क्षेत्रको गरिमा झन् बढेको छ । यस क्षेत्रमा लोपोन्मुख हिमाली गिद्ध र हाडफोर गिद्धको गुँड भएको पुष्टि भएको छ ।
    चराहरू मात्र होइन, यस अध्ययनले ८ प्रजातिका पुतली, ५ प्रजातिका माछा, ४ प्रजातिका उभयचर, ८ प्रजातिका सरिसृप र १८ प्रजातिका स्तनधारी जनावरहरूको उपस्थिति अभिलेख गरेको छ । गौमुखी गाउँपालिका क्षेत्रमा लोपोन्मुख चराहरु रहेकाले यस क्षेत्रको समग्र जैविक सम्पदा झल्काउँने उनले बताए ।

    यस अध्ययनले गौमुखी वन संरक्षण क्षेत्र घोषणको लागि थप सहयोग गरेको छ । चरा तथा जैविक विविधता क्षेत्र बनाउन बलियो आधार मिलेको छ । लोपोन्मुख तथा बिभिन्न प्रजातीका चराहरुको बसोबास रहेको गौमुखी क्षेत्रमा ग्रामीण पर्यटन, वैज्ञानिक अनुसन्धान, वातावरण संरक्षण र पर्यापर्यटन प्रवर्धन सँगै स्थानीय समुदायको जीविकोपार्जन तथा दिगो विकासका लागि पनि सम्भावनाको ढोका खोलेको गौमुखी पालिकाका उपाध्यक्ष महाविर रानाले बताए ।
    ‘गौमुखी गाउँपालिका जैविक विविधता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको समन्वय भएको एउटा अद्वितीय गन्तव्य हो,’उपाध्यक्ष रानाले भने,‘चरा गणना र त्यसपछिको नतिजाले झनै उत्साहित बनाएको छ ।’ गाउँपालिका भित्र सयौंको संख्या चराहरु तथा तिनका बिभिन्न प्रजातीहरुको बासस्थान भएकाले त्यसको संरक्षण र संमद्धनमा गाउँपालिकाले भुमिका खेल्ने बताए । गौमुखी पुग्ने जो कोहीले पनि यहाँबाट प्रेरणा, साहसिकता र प्रकृतिसँगको गहिरो सम्बन्ध प्राप्त गर्न सक्छ । गौमुखी क्षेत्र प्रकृति, संस्कृति र पर्यटनको संगम खोज्ने जो–कोहीका लागि एक अनिवार्य भ्रमणस्थल समेत रहेको उपाध्यक्ष रानाले बताए ।


    २०१६ सालमा वन तथा भु संरक्षण बिभागले गौमुखी गाउँपालिकाको करिव १८०.३८२ बर्ग किलोमिटर क्षेत्रपलmललाइ संरक्षण क्षेत्र बनाउन प्रस्ताव गरेको थियो । बिभिन्न चराचुरुंगी, ८ प्रजातीका पुतली, ५ प्रजातीका माछा, ४ प्रजातिका उभयचर, ८ प्रजातिका सरिसृप र १८ प्रानितका स्तनधारी जनावर पाइएकाले यस वन क्षेलाइ संरक्षित वन क्षेत्र बनाउन थप टेवा पुग्ने गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम पौडेलले बताए ।
    पुर्वमा गूल्मीको मदाने संरक्षण वन,उत्तरमा बाग्लुंग जिल्लाको वन क्षेत्र, पश्चिममा प्यूठानकै कोठिभिर वन क्षेत्रसंग जोडिएको गौमुखीको यस वन क्षेत्रलाइ संरक्षणको आवश्यकता रहेको स्थानियले समेत औल्याएका छन् ।


    गौमुखी क्षेत्रका चरा, जैविक विविधता र प्रचुर पर्यटकीय सम्भाव्यतालाई उजागर गर्दै दिगो उपयोग, प्रवर्धन गर्दै समग्र पालिकाको समृद्धिका लागि गौमुखी गाउपालिकाले ध्यान दिएको गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम पोडेलले बताए ।



    mandavionline mandavionline    
  • १३ असार २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP