प्रमोद ओली, प्युठान। प्युठान जिल्लाका विभिन्न खोलामा अवैध रूपमा बालुवा, गिट्टी तथा मिसकट उत्खनन गर्दै गरेका JCB र टिपरहरूलाई प्रहरीले गस्तीको क्रममा नियन्त्रणमा लिई सम्बन्धित पालिका कार्यालयहरूमा बुझाएको छ। पालिकाहरूले ती सवारीसाधनहरूलाई जरिवाना गरि छोडेको जनाएका छन्।
पहिलो घटना
मिति २०८२ साल जेठ १० गते बिहान ९:३० बजेको समयमा इलाका प्रहरी कार्यालय ओखरकोट, प्युठानबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीले झिमरुक गाउँपालिका–७ स्याउलेघारीस्थित झिमरुक खोलाको बीच भागमा अबैध रूपमा गिट्टी, बालुवा र मिक्स मटेरियल उत्खनन गरिरहेको रा १ क २२९६ नम्बरको JCB र उत्खनन गरिएका सामग्री टिपरमा लोड गरिरहेको रा १ ख १९७१ नम्बरको टिपरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि झिमरुक गाउँपालिकामा पठाएको थियो। पालिकाले ती सवारीसाधनहरूलाई १५,००० रुपैयाँ जरिवाना गरि छाडेको जानकारी दिएको छ।
दोस्रो घटना
मिति २०८२ साल जेठ ११ गते बिहान ९ बजेको समयमा सोही इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको अर्को टोलीले झिमरुक गाउँपालिका–३ लामसेरा साठ्ठीमुरेस्थित झिमरुक खोलामा अबैध रूपमा उत्खनन गरिरहेको अवस्थामा गौमुखी एग्रीगेट कम्पनी प्रा लि को लु १ च ४४५५ नम्बरको JCB र उत्खनन गरिएका सामग्री लोड गरिरहेको अबस्थामा लु १ ख १९७८ तथा ना ७ ख ७९२३ नम्बरका टिपरहरूलाई नियन्त्रणमा लिई पालिकामा बुझाएको थियो। झिमरुक गाउँपालिकाले यसपटक पनि १५,००० रुपैयाँ जरिवाना गरि ती सवारीसाधनहरू छाडेको जनाएको छ।
तेस्रो घटना
उक्त दिनकै बिहान ९:४५ बजे प्रहरी चौकी लामाचौरबाट खटिएको प्रहरी टोलीले प्युठान नगरपालिका–१ भलवाङस्थित माडी खोलामा अबैध रूपमा मिक्स मटेरियल उत्खनन गरिरहेको लु १ क २३२२ नम्बरको JCB र उत्खनन सामग्री लोड गरिरहेको स १ ख ७१८ नम्बरको टिपरलाई नियन्त्रणमा लिई प्युठान नगरपालिकामा पठाएको हो। पालिकाले ती सवारीसाधनहरूलाई ९,००० रुपैयाँ जरिवाना गरि छाडेको जनाएको छ।
पछिल्लो समय प्युठान जिल्लाका खोलानालामा अवैध उत्खननका गतिविधिहरू बढ्दो क्रममा रहेका छन्। यस्ता कार्यले वातावरणीय सन्तुलनमा गम्भीर असर पार्ने भएकाले प्रहरीले निगरानी थप कडा बनाएको जनाएको छ। साथै, सम्बन्धित पालिकाहरूले यस्ता कार्य रोक्नका लागि आवश्यक कानुनी कदम चालिने बताएका छन्।
प्रतिक्रिया