अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुपा देउराली मन्दिर दर्शन गरेर सुनवल फर्किँदै गरेको लु २ ख ३७२ नम्बरको बस ब्रेक फेल भएपछि अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनाका क्रममा बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि बस सडक छेउको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।
घाइते सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
प्रतिक्रिया