प्युठान। प्युठान नगरपालिका–३ ओखरबोटमा बसको ढोकाबाट खसेर सोही बसको टायरले किच्दा एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानकाअनुसार, शनिबार दिउँसो करिब ३ बजेर ४० मिनेटको समयमा जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको ना ४ ख ५९४६ नम्बरको बसबाट खस्दा प्युठान नगरपालिका–३ निवासी प्रकाश सुनारका १० वर्षीय छोरा पुष्कर सुनारको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी बिष्टको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार बसका चालक दाङको घोराही उपमहानगरपालिका–१२ निवासी प्रेम गिरीलाई नियन्त्रणमा लिइएको छ। चालकसँग सवारी चालक अनुमतिपत्र रहेको र मादक पदार्थ सेवन नगरेको प्रारम्भिक जाँचबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया