प्यूठान । आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै प्यूठान नगरपालिका–७, पुण्यखोलाका युवा समाजसेवी विशेक थापाले दुई विद्यार्थीको शिक्षामा दीर्घकालीन सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
थापाले आफ्नो जन्मदिनको अवसरमा प्यूठान नगरपालिका–७ स्थित श्री क्षेत्र विकास माध्यमिक विद्यालय, पुण्यखोलामा अध्ययनरत दुई विद्यार्थीलाई कक्षा १० सम्म आवश्यक शैक्षिक खर्च व्यहोर्ने घोषणा गर्नुभएको विद्यालयले जनाएको छ ।उहाँका अनुसार विद्यालयको कक्षा ५ मा अध्ययनरत प्यूठान नगरपालिका–४, सुनारटोल, बिजुवार निवासी रमिता सुनार र कक्षा ३ मा अध्ययनरत लिपिकोट निवासी आहान सुनारलाई कक्षा १० सम्म अध्ययनका लागि आवश्यक स्टेशनरी सामग्री, विद्यालय पोशाक, परीक्षा शुल्क, ट्युसन शुल्क लगायतका शैक्षिक खर्चमा सहयोग गरिनेछ ।
थापाले आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नगरी आर्थिक रूपमा आवश्यकतामा रहेका विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले यस्तो घोषणा गर्नुभएको बताउनुभयो । उहाँको यो पहलले विद्यार्थीको शिक्षालाई निरन्तरता दिन सहयोग पुग्नुका साथै समाजमा शिक्षा क्षेत्रमा सहयोग गर्ने संस्कारको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
आफ्नो शैक्षिक यात्रा सुरुवात गरेको विद्यालयमा यस्तो सहयोगको घोषणा गरेको थापाले बताउनुभयो ।
प्रतिक्रिया