लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन नसक्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीको आयोजनामा बुटवलमा आयोजित ‘मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३’ मा आज सम्बोधन गर्दै उहाँले लोकतन्त्रको मर्मविपरीत कसैले कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिनुभयो ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो,“पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । राजनीतिक दलहरू सुषुप्त अवस्थामा रहेका बेला पत्रकार, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरू सडकमा उत्रिएर लोकतन्त्रको रक्षाका लागि योगदान गरेको कुरा बिर्सिनुहुँदैन ।”
उहाँले सङ्घीय सरकारले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन दिने गरी जारी गरेको परिपत्रका विषयमा प्रधानमन्त्रीसमक्षसमेत आफूहरूले छलफल उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकार मिडियामैत्री रहेको दाबी गर्दै मिडिया क्षेत्रका सरोकार भएकाहरूसँग समन्वय गरेर बजेटको व्यवस्था गरिएको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रमा देखिएका चुनौतीलगायत विषयमा सम्मेलनमा हुने बहसले पर्यटन, उद्योग र व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सञ्चार क्षेत्रको अस्तित्व सङ्कटमा पुग्ने अवस्था आएकाले यसबारेमा सबैले सोच्नुपर्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले तीनै तहका सरकारले मिडियामैत्री नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।
महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले तीन दिनसम्म सञ्चालन गरिएको मिडिया मन्थन कार्यक्रममा सञ्चार क्षेत्रको अवस्था, यू मिडियाका अवसर र चुनौती, रुपन्देहीको आर्थिक विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनलगायत विषयमा व्यापक छलफल भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया