प्यूठान, वैशाख २४ — जिल्ला प्रहरी कार्यालय प्यूठानले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हरि भट्टराईका अनुसार स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्क निवासी ६३ वर्षीया धनी कुमारी सुनार २०७९ मंसिर १ गते बिहान भुपाल घर्तिको बारीमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत फेला परेको घटनामा अनुसन्धान जारी रहेको थियो।
उक्त घटनामा संलग्न रहेको खुलेपछि मृतककी सौतेनी कान्छी बुहारी अन्दाजी ३२ वर्षीया चेती सुनारलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको जनाएको छ।
प्रहरीले प्यूठान जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सुनारलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकी सुनारमाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
प्रतिक्रिया