प्युठान। ‘क्षयरोग रोकौँ, क्षयरोग अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ प्युठान जिल्लामा सुसुप्त क्षयरोग उपचार (3HP) कार्यक्रम सञ्चालन गरिएको छ।
स्वास्थ्य कार्यालय प्युठानको आयोजना र बीएनएमटी नेपाल प्युठानको प्राविधिक सहयोगमा जिल्लाका दुई पालिकामा यो कार्यक्रम सुरु भएको हो। कार्यक्रम सुरु भएको एक महिनामै प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकामा गरी कुल २२ जनाको Mantoux परीक्षण गरिएको छ। जसमध्ये १५ जनामा सुसुप्त क्षयरोग पोजिटिभ देखिएको छ। प्युठान नगरपालिकामा १० जनाको Mantoux परीक्षण गर्दा ५ जनामा पोजिटिभ देखिएको थियो। उनीहरुलाई हप्ताको एकपटक १२ हप्तासम्म औषधि सेवन गर्नुपर्ने गरी तीन महिनाको उपचार सुरु गरिएको विराट नेपाल मेडिकल ट्रस्टका जिल्ला कार्यक्रम संयोजक शिखर गौतमले जानकारी दिए।
त्यस्तै, स्वर्गद्वारी नगरपालिकामा १२ जनाको Mantoux परीक्षण गर्दा १० जनामा पोजिटिभ देखिएको थियो। उनीहरुको लागि पनि तीन महिनासम्म हप्ताको एकपटक औषधि सेवन गर्ने गरी उपचार प्रारम्भ गरिएको गौतमले बताए। प्युठान भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रामकुमार जैसवालले सुसुप्त क्षयरोग पत्ता लगाउन संक्रमित व्यक्तिको छालामा ट्युबरकुलिन स्किन टेस्ट (Tuberculin Skin Test) र रगतमा आइजीआरए टीबी (IGRA TB) को जाँच गरिने जानकारी दिए।
यस परियोजनाका लागि रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ मिड टाउनको समन्वय रहेको बीएनएमटी नेपालका परियोजना प्रबन्धक रामनारायण पण्डितले बताए।
प्रतिक्रिया