माण्डवी अनलाइन, प्युठान ।
झिमरुक गाउँपालिकाको बतासेडाँडा–घुम्नेठाँटी सडक खण्डमा कालोपत्रे गर्ने काम सुरु भएकाले भोलि (बिहीबार) चैत १९ गतेदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेन्जुवालका अनुसार सडक निर्माण कार्यलाई प्रभावकारी बनाउन अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने छ।
बाग्दुला–बतासेडाँडा–मच्छी–लामासेरा पहुँचमार्ग अन्तर्गतको यो खण्डमा कालोपत्रेको काम भइरहेको समयमा यात्रुहरूलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै गाउँपालिकाले वैकल्पिक मार्गको व्यवस्था समेत गरेको पालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
साना सवारी साधनहरूले कोलछापा – निन्युखर्क हुँदै घुम्नेठाँटी निस्कने बाटो प्रयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया