काठमाडौं । छिमेकी मुलुक भारतमा निपाह भाइरसको पुष्टि भएपछि अहिले यो भाईरसबारे नेपाली जनमानसमा पनि चासो र चिन्ता संगै चिकित्सकहरुले यसबाट बच्ने उपायहरुबारे सचेत गराईरहेका छन् ।
कुनै पनि संक्रमण छिमेकी देशमा देखिएपछि नजिकको देश जोखिममा पर्ने गर्छ । भारतसंग खुला सिमा भएको हाम्रो देशमा उच्च सतर्कताको कमी र लापरवाहीले निपाह भाइरस आउने जोखिम नेपालमा पनि देखिएको हो ।
सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार, निपाह भाइरस भारतको कोलकाता नजिकै फैलिएको पुष्टि भएको छ, जसमा स्वास्थ्यकर्मीहरू संक्रमित भएका छन्।
नेपालमा पनि निपाह भाइरसको जोखिम रहेको आशंका गरिएको छ, किनकि चमेरोको प्रजाति यहाँ पनि पाइन्छ। उच्च मृत्युदर र स्वास्थ्य संस्थाहरूको तयारीको कमीले नेपालमा यो भाइरसको जोखिमलाई गम्भीर बनाउँछ।
निपाह भाइरसको मुख्य (प्राथमिक) स्रोत मानिने चमेरो हो। हाल यो भाइरस भारतको कोलकाता नजिकैको एक सहरमा फैलिएको पुष्टि भएको छ।
त्यहाँको एक स्वास्थ्य संस्थामा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी गरी कम्तीमा पनि पाँच जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ।
निपाह भाइरस एक गम्भीर र घातक सङ्क्रामक रोग हो, जुन मुख्यतः जनावरबाट मानिसमा सर्ने गर्दछ। विशेषगरी चमेरो यस भाइरसको प्राकृतिक स्रोत मानिन्छ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक पुन निपाह भाइरस नेपालमा पुष्टि नभएको बताउनुहुन्छ । तर उच्च सतर्कता अपनाउन जरुरी रहेको डा पुनको भनाई छ ।
डा पुनका अनुसार निपाह भाइरसको प्राकृतिक स्रोत मानिने चमेरोको प्रजाति नेपालमा तराईदेखि काठमाडौँलगायत पहाडी भेगमा समेत पाइने विभिन्न अनुसन्धानले देखाएका छन्।
अनुसन्धान वा परीक्षणबिना कुनै पनि सङ्क्रमण छैन भनेर यकिन गर्न मिल्दैन। नेपालमा निपाह भाइरसको प्राथमिक स्रोत मानिने चमेरोको प्रजाति रहेको विभिन्न अध्ययनले देखाए पनि भाइरस नै छ भनेर अनुसन्धान गरी सार्वजनिक भएको पाइँदैन। तथापि, भाइरस पाइने चमेरोको प्रजाति नेपालमा प्रशस्त रहेकाले उच्च सतर्कता अपनाउन अनुसन्धानकर्ताहरूले सुझाव दिने गरेका छन्।
भारत र बंगलादेशमा यो भाइरस मानिसमा चमेरोले खाएर छोडेको जुठो फलफूल वा खानेकुरा खाँदा सरेको देखिन्छ।स्वास्थ्य विज्ञहरूका अनुसार निपाह भाइरसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या देखिने र गम्भीर अवस्थामा मस्तिष्क सुन्निने जस्ता लक्षण देखिन सक्छन्।
कतिपय अवस्थामा बिरामी कोमामा समेत जान सक्ने खतरा रहन्छ। विश्व स्वास्थ्य संगठनले यसको मृत्युदर ४० देखि ७५ प्रतिशत भने पनि भारत तथा बंगलादेशमा भने शतप्रतिशतसम्म भएको देखिएको छ। यो सङ्क्रमणप्रति नेपाल गम्भीर हुनुपर्ने मुख्य कारण भनेको यसको मृत्युदर उच्च हुनु नै भएको डा पुनको भनाई छ ।
नेपालमा हालसम्म निपाह भाइरसको एउटा पनि केस नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार निपाह भाइरस आधिकारिक पुष्टि भएको कुनै पनि केस नदेखिएको बताउनुहुन्छ । तर जोखिम भने रहेको भनाई उहाँको छ । छिमेकी देशहरूमा देखिएका घटनालाई ध्यानमा राख्दै निगरानी प्रणालीलाई सक्रिय बनाइएको प्रवक्ता बुढाथोकीको भनाई छ । त्यसैले सावधानी नै सबैभन्दा प्रभावकारी उपाय मानिन्छ।
काँचो फलफूल राम्रोसँग धोएर मात्र खाने, चमेरो वा बिरामी जनावरसँग प्रत्यक्ष सम्पर्क नगर्ने, ज्वरो वा अस्वस्थता देखिए तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउने सुझाव प्रवक्ता बुढाथोकीको छ ।
स्वास्थ्य मन्त्रालयले अनावश्यक डर नमान्न तर सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको गरिरहेको छ। हाल नेपालमा निपाह भाइरसको पुष्टि भएको अवस्था छैन, तर सतर्कता अत्यन्त आवश्यक छ । निपाह भाइरसको हालसम्म कुनै खोप वा निश्चित उपचार उपलब्ध छैन।
सिमा नाकामा देशभर निगरानीका साथै अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सामाजिक सञ्जालमा पछिल्लो समय निपाह भाइरस नेपालमा पनि फैलिएको दाबी गर्दै विभिन्न पोस्ट र सन्देशहरू भाइरल भइरहेका छन्। तर यस्ता सूचनामध्ये धेरैजसो अप्रमाणित र भ्रामक हुने स्वास्थ्य विज्ञहरूको भनाई छ ।
निपाह भाइरस जस्तो संवेदनशील स्वास्थ्य विषयमा सामाजिक सञ्जालमा आएका हल्लालाई जाँच नगरी पत्याउनु जोखिमपूर्ण हुन सक्छ।
आधिकारिक जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन वा सरकारका मान्य स्वास्थ्य निकायबाट जारी सूचना मात्र विश्वसनीय मान्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता बुढाथोकीको सुझाव छ।
स्वास्थ्य मन्त्रालयले निपाह भाइरसको विषयमा अनावश्यक डर फैलाउनुभन्दा सचेत रहन नागरिकलाई आग्रह गरेको छ । हालसम्म नेपालमा निपाह भाइरस पुष्टि नभएको जनाउँदै सरकारले निगरानी र तयारीलाई निरन्तरता दिएको बताइसकेको छ ।
प्रतिक्रिया