logo

  • १८ माघ २०८२, शनिबार | Sat, 31 Jan 2026

  •      Listen Radio Live

    नेतृत्व परिवर्तनको संकेत? कांग्रेसले थापालाई प्रधानमन्त्री उम्मेदवार बनाउने

    नेतृत्व परिवर्तनको संकेत? कांग्रेसले थापालाई प्रधानमन्त्री उम्मेदवार बनाउने

    काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकले औपचारिक रूपमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको पार्टीले जनाएको छ।

    पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्रीको उम्मेदवार तोक्ने निर्णय आउनेछ। ‘हामी देशभर नयाँ र नविन कांग्रेसको सन्देशसहित सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दैछौं,’ प्रवक्ता चालिसेले भन्नुभयो।

    उहाँका अनुसार विशेष महाधिवेशनको म्यान्डेट तथा सुशासन र विकासको मागसहित उठेको जेन–जी आन्दोलनको सन्देशलाई समेत सम्बोधन गर्ने गरी कांग्रेस स्पष्ट नेतृत्वसहित निर्वाचनमा जाने तयारीमा छ। ‘भोट हालिसकेपछि प्रधानमन्त्री को हुन्छ भन्ने विषयमा मतदातालाई पहिल्यै स्पष्ट जानकारी दिने हाम्रो रणनीति हो,’ उहाँले भन्नुभयो ।

    गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेस विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो।

    सभापति निर्वाचित भएपछिका पहिलो र दोस्रो केन्द्रीय कार्यसमिति बैठक तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि गठित संसदीय बोर्डको बैठक पार्टी केन्द्रीय कार्यालयमा नबसी बाहिर नै बसेको थियो। शुक्रबारदेखि केन्द्रीय कार्यालयमै केन्द्रीय कार्यसमिति बैठक बस्ने चालिसेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार केन्द्रीय कार्यसमितिलाई आज निर्वाचन समितिले औपचारिक रुपमा प्रमाणपत्र समेत प्रदान गर्नेछ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अन्य राजनीतिक दलहरूले पनि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेका छन्। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।



    mandavionline mandavionline    
  • १० माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP