काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले संविधानमार्फत युवाले उठाएका माग सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
डा कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गरी ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाले उठाएको आवाजप्रति आफ्नो पूर्ण समर्थन रहेको बताउनुभयो । “जहानिया राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि सङ्घर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, म हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राख्दछु”, उहाँले भन्नुभयो ।
डा कोइरालाले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका सबैको आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका पार्टीका नेता तथा कार्यकर्ताहरू, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
पूर्वमहामन्त्री डा कोइरालाले सरकारी, सार्वजनिक सञ्चारगृह, उद्योग, व्यवसाय तथा कलकारखाना साथै निजी सम्पत्ति र भवनहरूमा भएको तोडफोड, लुटपाट र व्यक्तिगत आक्रमणजस्ता घटनाको विरोध गर्नुभएको छ ।
उहाँले आन्दोलनपश्चात मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरिनुपर्ने आवश्यक रहेकाले यसका लागि देशभित्रका सबै पक्षबीच सहमति, सहकार्य र एकता कायम गरी संवैधानिक मार्गद्वारा शान्तिपूर्ण समाधान निकाल्नु आजको आवश्यकता भएको बताउनुभयो । यसतर्फ जेनजी युवाहरूको पूर्ण सकारात्मक भूमिका रहने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ ।
उहाँले जेनजीको ‘भ्रष्टाचार र बेथिति’ सम्बन्धी न्यायोचित मागहरू वर्तमान संविधानभित्रै रहेर समाधान गर्नुपर्ने बताउनुभयो । डा कोइरालाले ६५ वर्ष लामो राजनीतिक सङ्घर्ष, त्याग, तपस्या र बलिदानको परिणामस्वरूप नेपालमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्नुपर्ने उल्लेख गर्नुभयो ।
संवैधानिक समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलको पहल सराहनीय भएको र उक्त पहलमा सबैको साथ र समर्थन रहनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया