प्युठान । गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने उद्देश्यका साथ ऐरावती गाउँपालिकाले एम बि बि एस पढ्ने बिद्यार्थिलाइ छात्रबृति दिन सुरू गरेको छ।
ऐरावती गाउँपालिका वडा नं. २ का अजय जीसीले काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजमा एमबीबीएस तेस्रो वर्षको अध्ययनका लागि गाउँपालिकाबाट १३ लाख रुपैयाँको छात्रवृत्ति प्राप्त गर्नुभएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमअनुसार उहाँले यो छात्रवृत्ति पाउनुभएको हो । गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले विद्यार्थी अजय जीसीकी आमा बसन्ता जीसीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
ऐरावती गाउँपालिकाले यस कार्यक्रमका लागि चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने आगामी आर्थिक वर्षका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले बताउनुभयो । गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले अध्ययनपश्चात् तीन वर्षसम्म गाउँपालिकाभित्र नेपाल सरकारको सुविधामा रही सेवा प्रदान गर्ने समझदारी भएको जानकारी दिनुभयो ।
विपन्न नागरिकलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने र उनीहरूलाई गाउँपालिकाका नागरिकलाई चिकित्सकीय सुविधा दिन प्रेरित गर्ने उद्देश्यले यो योजना ल्याइएको अध्यक्ष शाहले बताउनुभयो । गाउँपालिकाले हाल पनि एमबीबीएस डाक्टर राखेर नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया