सरुमारानी गाउँपालिका वडा नंम्बर ३ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। वडास्तरीय पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणाका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा भएपछि शुक्रबार एक कार्यक्रमका बिच वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हंसपुर स्वास्थ्य चौकीका प्रमुख सरोज कुमार भट्टले बताउनुभयाे ।
वडाभित्रका जन्मेंदेखि १५ महिना मुनिका ६४ जनाले र १६ महिना देखि ५९ महिना सम्मका १८८ जना बालबालिकाले पूर्णखोप पाएकाे उहाँले बताउनुभयो ।
२०८१ फागुन महिनामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहयोगमा ५ वर्ष मुनिका बालबालिकाहरू को घरघरमा स्वास्थ्यकर्मी गइ घरधुरी सर्वेक्षण गरेका थिए । घरधुरी सर्वेक्षणमा १० जनाले आंशिक रुपमा खोप लगाएको तर पूर्ण खोप नभएको भेटिएकोमा सो बालबालिकाहरूलाई खोज र खोप अभियान मार्फत पूर्ण खोप लगाउने प्रक्रिया पुरा गरी वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष भीम बहादुर मर्साङ्गीले आफ्ना बालबालिकालाई हरुलाई नियमित खोप लगाउन र कुनै पनि बालबालिकालाई खोप लगाउनबाट वञ्चित नगराउन अाग्रह गर्नुभयो । साथै कार्यक्रमलाई अागामी दिनमा निरन्तरता तथा दिगाेपनामा जाेड दिदै स्वास्थ्यका कार्यक्रमहरुको लागि र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सेवा सुविधाका लागि वडा र पालिका बाट गर्ने सहयोग आफूले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।
यस्तै स्वास्थ्य चौकी प्रमुख सराेज भट्टले खोप सेवा लाई अझै प्रभावकारी बनाउन आर्थिक वर्ष को शुरुमै सुक्ष्म योजना तयार गरी खोप कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताउनुभयाे । खोप लगाउन पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको कुरा स्पष्टपार्दै यसतर्फ अभिभावकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
वडा लाई पूर्ण खोप घोषणा गर्न कटिबद्ध भई खटिएको र जनस्वास्थ्यका कार्यक्रम हरुमा निरन्तर सहयोग गरेको भन्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुलाई फूलमाला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । आगामी दिनमा पनि वडाको पूर्ण खोपको अवस्थालाई निरन्तरता दिने र दिगोपन कायम राख्ने सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।
सरुमारानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा वडा खोप समन्वय समितिका संयोजक भिम बहादुर मर्साङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सरुमारानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझी, कार्यपालिका सदस्य आशा विश्वकर्मा , वडा नं. ३ अन्तर्गतका महिला स्वास्थ्य स्वयंमसेविका, स्वास्थ्य आमा समूहका प्रतिनिधि , विद्यालयका प्रधानाध्यापक, किशोर किशोरी, बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, गैर सरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया