प्रमोद ओली, प्युठान। जिल्लाको मल्लरानी गाउँपालिका–३ चौरपानीस्थित राम प्रसाद पौडेलको घरमा भएको चोरी प्रकरणमा संलग्न दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ। २०८२ वैशाख ७ गते राति उक्त घरको ढोका र ताला फोडी नगद २ लाख ४० हजार रुपैयाँ र करिब १ लाख रुपैयाँ बराबरको पसलको सामान चोरी भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय प्युठानबाट विशेष प्रहरी टोली खटिएको थियो।
अनुसन्धानको क्रममा वैशाख ११ गते १८ वर्षीय युवराज घर्ति मगर र १७ वर्षीय (परिवर्तित नाम) तिलपाटालाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको घर तथा विभिन्न स्थानमा लुकाई राखिएको नगद ५५ हजार ५० रुपैयाँ र चोरीका सामानहरू बरामद गरिएको छ। प्युठान जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी केशब के सी ले जानकारी दिनुभयो।
प्रतिक्रिया