सागर रिजाल , प्युठान । ऐरावती गाउँपालिका वडा नं १ दाङवाङ माध्यामिक विद्यालयमा निर्माणाधिन विद्यालय तथा छात्राबास भवनको अनुगमन गरिएको छ । नेपाल भारत विकास सहयोग अन्तर्गत निर्माण हुन लागेको भवनको अनुगमन गरिएको हो । ऐरावती गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, भारतीय राजदुतावास काठमाडौंका प्रथम सचिव बशिष्ट नन्दन, भारतीय राजदुतावास काठमाडौंका ईन्जिनियर विनित मलिक,प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, वडा नं १ का वडा अध्यक्ष अमर बहादुर रेस्मीमगर, ऐरावती गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, विद्यालय व्यवस्थापन समिति, दाङवाङ माध्यामिक विद्यालयका शिक्षक , निर्माण व्यवसायी लगायतको उपस्थितीमा अनुगमन गरिएको हो ।
गत जेष्ठ ३२ गते शिलन्यास गरि भवन निर्माणको काम संचालन भएको थियो । हालसम्म विद्यालय भवनको काम ९० प्रतिशत सम्पन्न भएको र छात्रावास भवनको ३० प्रतिशत काम सम्पन्न भएको छ । भारतीय राजदुतावासको दुई करोड ७१ लाख ३८ हजार १ रुपियाँ र पालिकाको ६७ लाख ८४ हजार ५ सय गरी तीन करोड ३९ लाख २२ हजार पाच सय १ रुपियाँको लागतमा भवन निर्माण हुन लागेको हो । अनुगमन गर्दै भारतीय राजदुतावास काठमाडौंका प्रथम सचिव बशिष्ट नन्दनले भवन निर्माणको काम राम्रो भई रहेको बताउनुभयो । भवन निर्माण समयमा सम्पन्न गर्न समेत उहाँले निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।
निमार्ण व्यवसायी सित पनि सम्झौतामा उल्लेख भएको समयमा काम सम्पन्न गर्नको लागि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख निर्माण व्यवसायी बीच छलफल भएको र निर्माण व्यवसायीले समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता समेत गरेको पालिकाका योजना शाखा प्रमुख विनोद कुमार त्रिपाठीले बताउनुभयो ।
भवन निर्माण पश्चात यहाँ अध्ययन गर्ने विद्यार्थीलाई पठनपाठनमा सहजता हुने विद्यालयका प्रधानाध्यापक तुल्सीराम आचार्यले बताउनुभयो । साथै छात्राबास भवन निर्माण भएसंगै टाढाबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई सहज हुने उहाँले बताउनुभयो । साथै विद्यालयलाई डिजिटल प्रविधि मैत्री बनाउनको लागि प्रस्तावना बनाई आवश्यक पहलका लागि प्रथम सचिव वशिष्ट नन्दन सित छलफल भएको वडा अध्यक्ष अमर बहादुर रेस्मीमगरले बताउनुभयो ।
प्रतिक्रिया