रविन विश्वकर्मा, प्युठान ।गौमुखि गाउँपालिकामा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । गौमुखी–४ कुर्लाचौर खेलमैदानमा भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले आज उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै सहरी विकास तथा खानेपानी मन्त्री थापाले मच्छि ठुलाबेशि अर्खा सडक खण्ड कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनुभयो । सडक खोलिएको बषौंदेखि स्तरउन्नति हुन नसकेको बाग्दुला मच्छि सडक खण्डको स्तरउन्नति, बाटो कालोपत्रे कसरी गर्न सकिन्छ, बजेट कति लाग्छ भनेर प्राविधिक टोलीसहित केहि दिन अघि पैदल यात्रा गरेको गरेको बताउनुभयो । अहिले यस पटक परेको केहि बजेटबाट सडक कटिङको काम सुरु भएको बताउनुभयो । यो पटक सडक कालोपत्रे गर्ने उहाँले दाबी गर्नुभयो ।
बाग्दुला मच्छि सडक कालोपत्रेपछि मच्छि ठुलाबेशि अर्खा सडक खण्ड कालोपत्र गर्न पहल गर्ने उहाँको भनाइ छ । आफु मन्त्री भएको बेला अब मच्छि देखि अर्खासम्मको बाटो पिचको लागि यसै बर्ष केहि बजेट विनियोजन गरेर बहुबर्षिय ठेक्का लगाउने प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री थापाले खेलकुद मार्फत राष्ट्रलाई चिनाउन सकिने बताउनुभयो । पछिल्लो समय खेलकुद प्रती आकर्षण बढ्दै गएपनि खेलमैदान तथा प्रर्याप्त भौतिक संरचनाको अभावका कारण खेलमा सोचे जस्तो प्रगति हुन नसकेको बताउदै तीनै तहका सरकारले ब्यवस्थित खेल मैदानसंगै खेलाडिको क्षमतामा जोडदिनुपर्ने आवश्यकता औंल्याउनुभयो । खेलाडिको जीवनस्तर उकास्नको लागि पालिका स्तरबाट केहि कामको सुरुवात भएता पनि त्यो पुर्ण नभएको उल्लेख गदै यसको लागि प्रदेश सरकारले मापदण्ड समेत बनाएको बताउनुभयो । मन्त्रालय फरक भए पनि जिल्लाको खेलकुद क्षेत्र र खेलाडिको विकासका निमित्त खेलकुद मन्त्रालयसंग सहकार्य गदै अगाडि बढ्ने बताउनुभयो ।
यस्तै गाउँपालिका अध्यक्ष बिष्णु गरीले खेलकुद र खेलाडि उत्पादनमा पालिका लागि परेको बताउनुभयो । खेलमा आकर्षण बढाउन गाउँपालिकाले गौमुखी ४ मा खेलमैदान निर्माण गरी समय समयमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिता संञ्चालन गर्दै आएको बताउनुभयो । साथै प्रतिभा पहिचानको लागि गाउँगाउँ, बिद्यालयबाट खेलाडिको छनोट गर्दै खेल र खेलाडिको बिकासका लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने प्रतिवद्वता जनाउनुभयो ।
प्रतियोगितामा छात्र,छात्राका लागि विभिन्न विधाका खेलको आयोजना गरिएको गौमुखि गाउँपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख दुर्गा प्रसाद सुवेदीले जानकारी दिनुभयो । प्रतियोगितामा गौमुखि गाउँपालिका भित्रका ७ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको उहाँले बताउनुभयो । माघ ११ गतेबाट सुरु भएको खेलकुद प्रतियोगिता १३ गते सम्म संचालन हुने छ ।
प्रतिक्रिया