logo

  • ५ जेष्ठ २०८३, मंगलवार | Tue, 19 May 2026

  •      Listen Radio Live

    सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

    सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

    महेन्द्रनगर । खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाले आवदेन दिएका छन् ।

    सुदूरपश्चिम विश्वविद्यालयका कार्यरत प्राध्यापकदेखि मुलुकका विभिन्न शैक्षिक संस्थामा कार्यरतदेखि सेवा निवृत्त कर्मचारीले उपकुलपतिका लागि आवेदन दिनुभएको छ । गत वैशाख २५ गते विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो ।

    सरकारले अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि हाल सुदूरपश्चिम विश्वविद्यालयमा दैनिक कार्य सञ्चालन गर्न खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति नभएसम्म उपकुलपतिको जिम्मेवारी प्राध्यापक यज्ञराज पाठकलाई दिइएको छ । पाठक सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार हुनुहुन्छ ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि एक महिलासहित १९ जनाले आवेदन दिएका छन् । सचिवालयका अनुसार मुलुकका आठ वटा विश्वविद्यालयको उपकुलपतिका लागि २०० भन्दा बढी आवेदन परेका छन् । आजदेखि नियुक्त प्रक्रियाको काम आरम्भ भइसकेको सचिवालयले जनाएको छ ।

    प्रारम्भिक मूल्याङ्कन गरी उच्च अङ्क प्राप्त गर्ने दश जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक गर्ने तयारी छ । विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै अध्ययन गर्न पाएका छन् । विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता सुदूरपश्चिमवासीका लागि हटेको छ ।

    सुदूरपश्चिम विश्वविद्यालको महेन्द्रनगरमा केन्द्रीय क्याम्पससहित यहाँका नौ वटै जिल्लामा गरेर १६ क्याम्पस आङ्गिक क्याम्पस सञ्चालनमा रहेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी नवीन बमले जानकारी दिनुभयो । सम्बन्धन प्राप्त निजी र सामुदायिक गरी अन्य प्रदेश (सुदूरपश्चिम र कोशी प्रदेशबाहेक) ३१ वटा क्याम्पस पनि सञ्चालनमा रहेको विश्वविद्यालयले जनाएको छ ।



    mandavionline mandavionline    
  • ५ जेष्ठ २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP