प्युठान। जिल्ला प्रशासन कार्यालय प्यूठानले जिल्लाका ग्यास विक्रेतालाई कोठाभाडामा बस्दै आएका विद्यार्थीका लागि कम्तीमा १० प्रतिशत ग्यास सिलिन्डर छुट्याएर बिक्री गर्न निर्देशन दिएको छ।
जिल्लामा ग्यास आपूर्ति सहज नभएको अवस्थामा व्यवसायीले चिनजानका व्यक्ति, व्यवसायी तथा ग्राहकलाई प्राथमिकता दिई बिक्री वितरण गरेको र ग्रामीण क्षेत्रबाट जिल्ला सदरमुकाम तथा बजार क्षेत्रमा कोठाभाडामा बस्दै आएका विद्यार्थीले ग्यास नपाएको गुनासो आएपछि प्रशासनले यस्तो व्यवस्था गर्न अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालयले आज (साउन २४ गते) जारी गरेको सूचनामार्फत जिल्लास्थित सम्पूर्ण ग्यास विक्रेतालाई आपूर्ति सहज नहुँदासम्म कम्तीमा १० प्रतिशत ग्यास सिलिन्डर कोठाभाडामा बस्ने विद्यार्थीका लागि छुट्याएर बिक्री गर्न अनुरोध गरेको छ। त्यसरी छुट्याइएका सिलिन्डर विद्यार्थी परिचयपत्रको फोटोकपी राखी बिक्री गर्नसमेत भनिएको छ।
यस्तै, ग्यास विक्रेताले सिलिन्डर बिक्री गर्दा ग्राहकको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री मितिलगायतका विवरण अभिलेख राख्नुपर्ने व्यवस्था गर्न प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले उपभोक्तालाई पनि तत्काल आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ। सम्भव भएसम्म विद्युतीय उपकरणको प्रयोग गर्नसमेत उपभोक्तालाई अनुरोध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईद्वारा जारी सूचनामा ग्यासको आपूर्ति सहज नहुँदासम्म उक्त व्यवस्था पालना गर्न जिल्लास्थित ग्यास विक्रेतालाई अनुरोध गरिएको छ।
प्रतिक्रिया