प्युठान । “तीन तहका सरकार मिली गरौं हातेमालो: मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो” भन्ने मूल नाराका साथ १९औँ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस–२०८२ को सन्दर्भमा प्युठानमा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
यही भदौ २० गते हुने राष्ट्रिय दिवसको तयारी स्वरूप भदौ १५ गते महेन्द्र माध्यमिक विद्यालय, खलङ्गामा कक्षा १०, ११ र १२ का करिब ७५ जना विद्यार्थी तथा शिक्षक–शिक्षिकाको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोशीको नेतृत्वमा गएको टोलीले मानव बेचबिखन र ओसारपसारका जोखिम, यसका प्रकार र यसबाट बच्ने उपायबारे गहन जानकारी दिएको थियो ।
कार्यक्रममा प्रहरीले आधुनिक प्रविधिको दुरुपयोगबाट हुनसक्ने बेचबिखन र त्यसबाट कसरी जोगिने भन्ने विषयमा पनि विशेष जोड दिएको थियो । यो कार्यक्रमले विद्यार्थीमा बेचबिखन विरुद्धको चेतना अभिवृद्धि गर्न र उनीहरूलाई यस सामाजिक अपराधको विरुद्धमा खडा हुन प्रेरित गर्न युवाहरूलाई बेचबिखनको जालोबाट सुरक्षित राख्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया