काठमाडौं । विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको छ । पुर्जा संस्थापक रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ ले शनिबार फेसबुक पोस्टमार्फत पूर्जाको निधन भएको पुष्टि गरेको हो ।
‘अत्यन्तै गहिरो दुख र हृदयविदारक पीडाका साथ हामी यो पुष्टि गर्दछौँ कि ब्रोड पिकमा आएको हिमपहिरोमा परी निर्मल ‘निम्सदाइ’ पुर्जाले ज्यान गुमाउनुभएको छ,’ इलाइट एक्सपेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी निम्स मात्र नभई यो त्रासदीमा ज्यान गुमाउने उहाँका सहयात्री र गाइडहरू युक्ता र निमा शेर्पाप्रति पनि शोक व्यक्त गर्दछौँ ।’
बिहीबार ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको विनाशकारी हिमपहिरोमा पुर्जासँगै उनको टोलीका अन्य सदस्यहरूले पनि ज्यान गुमाएका छन्। कम्पनीका अनुसार पुर्जाका भरपर्दा आरोहण सहयोगी एवं गाइडहरू पुर बहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि सोही दुर्घटनामा मृत्यु भएको छ।
शनिबार बिहान ड्रोन सर्वेक्षणका क्रममा क्याम्प–१ नजिकै पाँचवटा शवहरू फेला परेपछि उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको थियो। त्यसअघि नै तीनवटा शव बरामद भइसकेको थियो। खराब मौसम र भौगोलिक कठिनाइका बाबजुद मिङ्मा ग्याल्जे शेर्पा ९मिङ्मा जी० र सिरबाज खानको नेतृत्वमा रहेको भू–उद्धार टोलीले घटनास्थलमा पुगेर मृतकहरूको पहिचान गरेको हो।
पूर्व ब्रिटिस गोर्खा सैनिक निर्मल पुर्जाले सन् २०१९ मा संसारका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमालहरू मात्र ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको यो साहसिक कार्य ‘फोर्टीन् पिक्स नथिङ इज इम्पोसिबलु डकुमेन्ट्रीका रूपमा नेटफ्लिक्समा समेत निकै चर्चित छ।
इलाइट एक्सपेडले यस कठिन घडीमा शोक सन्तप्त परिवारजनको गोपनीयताको सम्मान गरिदिन सबैमा आग्रह गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।
प्रतिक्रिया