माण्डवी अनलाइन, प्युठान। लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाको पहलमा प्युठान निर्वाचन क्षेत्र नं। २ अन्तर्गतको बाग्दुला–मच्छि सडक अब ३० करोड रुपैयाँको लगानीमा कालोपत्रे गरिने भएको छ। यस सडकलाई केन्द्र सरकारको सम्पर्क योजनामा समावेश गराइएको छ।
प्युठानवासीलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मन्त्री राणाले लेखेका छन्, “बाग्दुला–मच्छि सडकलाई स्तरीय बनाउने प्रतिवद्धता मैले निर्वाचनको बेला मुख्य एजेण्डाका रूपमा अघि सारेको थिएँ। अब त्यो संकल्प कार्यान्वयनमा उन्मुख भएको छ।”
उनका अनुसार, २०८१ फागुन ११ गतेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले यो सडकलाई केन्द्रिय सम्पर्क योजना अन्तर्गत समावेश गर्ने निर्णय गर्दै राष्ट्रिय योजना आयोगमा सिफारिस गरेको थियो। आयोगले प्रदेश सरकारको सिफारिसलाई अनुमोदन गर्दै केन्द्रको अर्थ मन्त्रालयमा बजेटमा समावेश गर्न सिफारिस गरिसकेको छ।
यसअघि पनि मन्त्री राणाको प्रस्तावमा बाहाने–स्याउलीबाङ सडकका लागि ४२ करोड १५ लाख रुपैयाँ केन्द्रीय सम्पर्क योजनामा पारिएको थियो, जुन हाल निर्माणाधीन अवस्थामा रहेको छ।
बाग्दुला–मच्छि सडकलाई प्युठान क्षेत्र नं २ को विकासको मेरुदण्ड मानिन्छ। सडक स्तरोन्नतिले स्थानीय यातायात, व्यापार र जनजीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। मन्त्री राणाको निरन्तर पहल, विकासप्रति प्रतिबद्धता र केन्द्र–प्रदेश समन्वय क्षमताले यस क्षेत्रमा नयाँ आशा र उत्साह थपेको छ। प्युठानवासीले सडक सुधारबाट सुविधाजनक आवागमन, बजारसम्म सहज पहुँचको अनुभव गर्नेछन्।
प्रतिक्रिया