logo

  • ७ फाल्गुन २०८२, बिहीबार | Thu, 19 Feb 2026

  •      Listen Radio Live

    प्यूठानको विकासको जिम्मेवारी दिन मतदाता आतुर छन् : डा. पोखरेल

    प्यूठानको विकासको जिम्मेवारी दिन मतदाता आतुर छन् : डा. पोखरेल

    प्यूठान । विकास तथा अर्थतन्त्रका विज्ञ प्रा.डा. गोविन्दराज पोखरेल यतिबेला ‘समृद्ध प्यूठान’को स्पष्ट दृष्टि र दीर्घकालीन योजना सहित चुनावी मैदानमा उत्रिनुभएको छ। विगतमा नीतिगत स्पष्टता र विकासप्रति दुरदर्शिता भएका प्रतिनिधि नहुँदा जिल्ला अपेक्षित गतिमा अघि बढ्न नसकेको उहाँको भनाइ छ।

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उहाँ प्यूठानका नौवटै स्थानीय तहमा मतदातामाझ पुगिरहनुभएको छ। ऊर्जा, अर्थतन्त्र र पूर्वाधार विकासका ठोस एजेन्डासहित उहाँले यसपटक प्यूठानलाई विकासको नयाँ चरणमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    यस निर्वाचनमा नेपाली कांग्रेस देशभर एक्लै प्रतिस्पर्धामा रहेको सन्दर्भमा प्यूठानमा पनि प्रतिस्पर्धा रोचक बनेको छ। पोखरेलका प्रमुख प्रतिस्पर्धीहरूमा सूर्य थापा (नेकपा एमाले), कृष्णध्वज खड्का (नेपाल कम्युनिष्ट पार्टी), सुशान्त वैदिक (राष्ट्रिय स्वतन्त्र पार्टी) र तिलकबहादुर जीसी (राष्ट्रिय जनमोर्चा) लगायत रहेका छन्।

    पोखरेलले आफ्नो अभियानलाई ‘विकास र अर्थतन्त्रको यथार्थवादी खाका’का रूपमा प्रस्तुत गर्नुभएको छ। ऊर्जा आत्मनिर्भरता, कृषि तथा उद्योगको आधुनिकीकरण, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सृजना तथा सडक, शिक्षा, स्वास्थ्यलगायत आधारभूत पूर्वाधार विस्तार उहाँका प्राथमिकतामा परेका विषय हुन्।

    त्यस्तै, तीनै तहका सरकारबीच प्रभावकारी समन्वय, नीतिगत सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण, पर्यटन प्रवर्द्धन तथा धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणमार्फत आर्थिक गतिविधि विस्तार गर्ने उहाँका प्रमुख संकल्पहरू रहेका छन्।

    “प्यूठानको विकास र समृद्धिको जिम्मेवारी अब प्यूठानबासीले अनुभवी र नीतिगत स्पष्टता भएका प्रतिनिधिलाई सुम्पिन आतुर छन्,” उहाँले विभिन्न भेटघाट कार्यक्रममा बताउँदै आउनुभएको छ।

    आफ्नो अनुभव, विज्ञता र विकासप्रतिको प्रतिबद्धताका आधारमा यसपटक प्यूठानका मतदाताले दूरदर्शी नेतृत्व रोज्ने विश्वास पोखरेलले व्यक्त गर्नुभएको छ।



    mandavionline mandavionline    
  • ६ फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP