विजयसिंह भारती
सामान्यतयाः धार्मिक स्थलहरूमा कुनै चाडपर्व तथा तिथि विशेषमा पूजाआजा हुने गर्दछ । तर, प्यूठान सदरमुकाम खलंगा नजिकै रहेको झाँक्रीस्थान मन्दिरमा सधैंजसो दर्शन गर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । झाँक्रीस्थानमा भैरवको पूजाआजा हुन्छ । मनोकांक्षा पूरा हुने र स्वास्थ्य लाभका लागि यहाँ पूजाआजा गर्ने र बलि दिने गरिन्छ । ‘यो परम्परा कहिलेदेखि सुरु भयो भन्ने इतिहास पुष्टि छैन’, स्थानीय दामोदर शर्माले भने, ‘हजुरआमाका अनुसार मानव सभ्यताको सुरुवातसँगै यहाँ पूजाआजा सुरु भएको हो ।’ यहाँ दिनहुँजसो दर्शनार्थीको भीड लाग्ने गरेको उनले बताए ।
‘मंगलबार र शनिबार विशेष दिन मानिन्छ’, उनले भने, ‘मनोकांक्षा पूरा हुने विश्वाससहित बलि दिने र त्रिशूल चढाउने गर्छन् ।’ परापूर्वकालदेखि नै गाईको दूध, नयाँ अन्नबाली यहाँ चढाएर मात्र खाने प्रचलन थियो । गाईको दूधको धार नदिई खाएमा बाघले दुःख दिने स्थानीयको बुझाइ छ । बोका, कुखुरा चढाइने यहाँ मनोकांक्षा पूरा भएमा पञ्चबलि दिने प्रचलन छ । राँगा, बोका, परेवा, भाले र कुभिन्डोको पञ्चबलि चढाउने चलन रहेको शर्माले बताए ।
झाँक्रीस्थानको बीचमा पहिले खिर्राको रूख रहेकोमा अहिले फलेतोको रूख छ । फलेतोको रूख भक्तजनले चढाएको त्रिशूलले भरिएको छ । थानसँगै काँक्रेखोला छ । थान वरपर सरसफाइ गर्न नहुने जनविश्वास छ । ‘खैराका स्थानीय दम्पतीले थान वरपर सरसफाइ गर्दा दुःख भोग्नु परेको र ज्यानै गुमाउनु परेको पूर्वजहरू बताउँछन्’, शर्माले भने, ‘थानलाई थानकै रूपमा राख्नुपर्ने किंवदन्तीअनुसार यहाँ मन्दिरसमेत निर्माण गरिएको छैन ।’ झाँक्रीस्थान क्षेत्रमा स्थानीयको निजी लगानीमा ट्रस्टलगायतका संरचना निर्माण गरिएको छ ।
सरकारी निकायहरूको सहयोगमा रेलिङ, सिँढीहरू निर्माण भएका छन् । यहाँ पिकनिक जाने पनि प्रचलन छ । प्यूठानसहित गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम, पाल्पाबाट समेत भक्तजनहरू आउने गर्छन् । सन्तान प्राप्तिको अभिलाषासहित पूर्वी तराईका जिल्लाबाट समेत दर्शनार्थी आउने गरेको स्थानीय बताउँछन् ।
‘पहिले–पहिले मोटरबाटोको सुविधा थिएन, भक्तजनहरू पैदल आउने गर्दथे’, स्थानीय शर्माले भने, ‘साँझ बास बस्नका लागि खर, ढुंगा, बाँसले ठाँटीहरू बनाउने गरिन्थ्यो ।’ सदरमुकाम खलंगाबाट तीन किलोमिटरको दुरीमा झाँक्रीस्थान छ । नुहाउनका लागि यहाँ भैरव कुण्ड रहेको छ । भैरवको पूजाआजा हुने भएकाले यहाँको शिरलाई भैरवडाँडा नामकरण गरिएको हो ।
धार्मिक पर्यटकीय सम्भावना बोकेको झाँक्रीस्थान, पर्यटकीय गन्तव्यको रूपमा विकासका लागि सरकारी निकायको भने ध्यान गएको छैन । यहाँ आउने आन्तरिक पर्यटकहरूलाई मध्यनजर गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ । यहाँको महŒव र धार्मिक विश्वास पुराना पुस्ताहरूमा अधिक रहेकाले नयाँ पुस्तामा यसको प्रचारप्रसार आवश्यक रहेको खलंगाका स्थानीय सोमराज शाहीले बताए । झाँक्रीस्थानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकेमा स्थानीय पालिकाको आन्तरिक आम्दानीमा समेत टेवा पुग्ने उनको बुझाइ छ । साभार अन्नपुर्णपोष्ट
प्रतिक्रिया