प्यूठान । रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा पहिरोमा परी बेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ। यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
गएराति परेको अविरल वर्षापछि गएको पहिरोमा पुरिएकी स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव घटनास्थलबाट फेला परेको हो।
पहिरोमा परी ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजीका लागि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ। टोलीले स्थानीयको सहयोगमा खोजीकार्य जारी राखेको जनाइएको छ।
प्रतिक्रिया