logo

  • २८ जेष्ठ २०८३, बिहीबार | Thu, 11 Jun 2026

  •      Listen Radio Live

    चुँजाठाँटी बजारमा अनुगमन, म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    चुँजाठाँटी बजारमा अनुगमन, म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    माण्डवी अनलाइन, प्यूठान । जेठ २८ — जिल्ला प्रशासन कार्यालय प्यूठानको संयोजकत्वमा चुँजाठाँटी बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ। उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले मल्लरानी गाउँपालिका–२ र ३ तथा ऐरावती गाउँपालिका–६ अन्तर्गतका व्यवसायहरूको अनुगमन गरिएको हो।

    सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय प्यूठान, प्रहरी चौकी चुँजाठाँटी तथा सञ्चारकर्मीको सहभागितामा गरिएको अनुगमनका क्रममा तरकारी तथा फलफूल, किराना पसल, होटल तथा कस्मेटिक पसलहरूको निरीक्षण गरिएको थियो।

     

    अनुगमनका क्रममा केही व्यवसायले व्यवसाय दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची सार्वजनिक नगरेको तथा व्यवसायको नामसहितको साइनबोर्ड नराखेको पाइएको थियो। यस्ता व्यवसायलाई कानुनी व्यवस्था अनुरूप व्यवसाय दर्ता तथा नवीकरण गर्न, मूल्यसूची अनिवार्य रूपमा प्रदर्शन गर्न तथा उपभोक्ताले सहज रूपमा देख्न सक्ने स्थानमा साइनबोर्ड राख्न निर्देशन दिइएको छ।

    त्यसैगरी होटल तथा खाद्य व्यवसायीलाई सरसफाइमा विशेष ध्यान दिन, खाद्य सामग्री सुरक्षित रूपमा भण्डारण तथा बिक्री वितरण गर्न र खुला रूपमा खाद्यवस्तु नराख्न सुझाव दिइएको अनुगमन टोलीले जनाएको छ।

    अनुगमनका क्रममा बजार क्षेत्रबाट ५९० रुपैयाँ बराबरका म्याद गुज्रेका तथा उपभोगयोग्य नरहेका खाद्यवस्तु फेला परेकाले नष्ट गरिएको छ। साथै व्यवसाय सञ्चालनका क्रममा देखिएका कमी–कमजोरी सुधार गरी उपभोक्तामैत्री सेवा प्रवाह गर्न व्यवसायीलाई आग्रह गरिएको छ।

     

    जिल्ला प्रशासन कार्यालय प्यूठानले उपभोक्ताको अधिकार संरक्षण, गुणस्तरीय वस्तु तथा सेवाको उपलब्धता सुनिश्चित गर्न र बजारलाई व्यवस्थित बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

     



    mandavionline mandavionline    
  • २८ जेष्ठ २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP