माण्डवी अनलाइन, प्युठान।
प्युठानको सरूमारानी गाउँपालिका–१ मा नेकपा एमालेबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। एमाले छाडेर करिब ११० जना प्रभावशाली नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेसँगै स्थानीय राजनीतिमा नयाँ तरंग पैदा भएको छ।
कांग्रेस प्रवेश गर्नेहरूमा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडा अध्यक्ष पदका उम्मेद्वार हरि प्रसाद शर्मा, २०७९ सालको निर्वाचनमा सोही पदका उपविजेता चेत बहादुर पुन तथा एमालेका पूर्णकालीन सदस्य बेगम पल्लि लगायतका नेता तथा कार्यकर्ताहरू रहेका छन्।
कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले एमालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसको नीति, लोकतान्त्रिक मूल्य र नेतृत्वप्रति विश्वास व्यक्त गरेका छन्। उनीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्राध्यापक डाक्टर गोविन्दराज पोखरेललाई भारी मतले विजयी गराउन आफूहरू एकताबद्ध भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन्।
नेपाली कांग्रेसले यस प्रवेशलाई पार्टी सुदृढीकरण र संगठन विस्तारका लागि महत्वपूर्ण उपलब्धिको रूपमा लिएको जनाएको छ। ठूलो संख्यामा एमालेका संगठित नेता तथा कार्यकर्ताहरू कांग्रेसमा समाहित भएपछि सरूमारानी क्षेत्रसहित समग्र प्युठानमा कांग्रेसको संगठनात्मक आधार थप बलियो बनेको कांग्रेसको विश्वास छ।
प्रतिक्रिया