नेपाली काग्रेंसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रको गुट उपगुट अन्त्य गर्न प्रत्यक्ष निर्वाचितबाट सभापती छानिनुपर्ने धारणा व्यक्त गरेका छन् । काग्रेस प्यूठानले आज प्यूठानको बालमन्दीरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले नेताको घरघरमा धाएर नेता र जनप्रतिनिधि बन्ने व्यवस्था अन्त्य गरी क्रियाशिल सदस्यहरुले पार्टी नेतृत्व र जनप्रतिनिधिका उम्मेवार छान्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
विधानको व्यवस्था बमोजिम तोकिएकै समयमा पार्टी अधिवेशन हुने भन्दै उनले सदस्यता नविकरणको काम चैत मसान्तभित्र सम्पन्न गर्ने गरी तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिए । आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले आश्वासनको पोका लिएर होइन, अहिलेसम्म भएका कामहरु र आगामी कार्यकालमा गर्ने कामको रिपोर्ट कार्ड लिएर जनतामा जाने उनले उल्लेख गरे ।
नेपालको बैदेशिक नीति एकरुपता हुनुपर्ने अहिलेको आवश्यकता रहेको उनले औंलयाए । अमेरिका, भारत, चीन जस्ता ठूला देशहरुले बैदेशिक नीतिमा नेपालका दलहरु एक छन् भन्ने सन्देश दिनुपर्ने अहिलेको आवश्कता रहेकोमा उनले जोड दिए । यद्यपी कम्युनिष्टहरु सरकारमा हुँदा एउटा र नहुँदा अर्काे कुरा गर्ने भएकाले यसो हुन नसकेको उनको भनाई थियो ।
गणतन्त्र, समावेशी, समानुपाति जस्ता एजेण्डाहरुलाई थप बलियो बनाउँदै संविधान संशोधन आवश्यक रहेको उनले बताए । तीन तहका सरकारहरुलाई बलियो बनाउने, संसद तथा मन्त्रीहरुको संख्यालाई कम गर्ने, जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने जस्ता विषयहरुमा संशोधन आवश्यक रहेको उनको भनाई थियो । १० वर्ष संविधान कार्यान्वयनका क्रममा देखा परेका जटिलाहरुलाई अनुभवका आधारमा संशोधन गरिने महामन्त्री थापाले बताए ।
प्रतिक्रिया