प्युठान। झिम्रुक गाउँपालिका-६ को साल्ले सामुदायिक वनमा दिउँसो करिब २ देखि ३ बजेको समयमा एक मानव कङ्काल फेला परेको छ।
उक्त कङ्काल गत असोज २७ गतेदेखि सम्पर्कविहीन हुनुभएका प्युठान नगरपालिका वडा न. १० बल्दे निवासी ७० वर्षीय भेग बहादुर सुनारको रहेको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालयमा परिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा उक्त कङ्कालको रूपमा भेग बहादुर सुनारको शव भेटिएको हो। मृतकका छोरा सागर सुनारले सनाखत गर्नुभएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी निरञ्जन रिजालले जानकारी दिनुभएको छ।
लामो समयदेखि बेपत्ता उहाको खोजी भइरहेकोमा आज स्थानीय बासिन्दाले जङ्गलमा मानव कंकाल देखेर प्रहरीलाई खबर गरेका थिए।
स्थानीयको सूचनापछि प्रहरी चौकीका प्रमुख राम बहादुर आले र झिम्रुक गाउँपालिका वडा न. ६ का वडा सदस्य मित्रु गिरीसहितको टोली घटनास्थलमा पुगेको थियो। टोलीले घटनास्थलको खोज अनुसन्धान गर्दा बाटोको छेउबाट लडेर जङ्गलमा छरछित्त अवस्थामा रहेको मानव कंकाल फेला पारेको हो।
फेला परेको मानव कङ्काललाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा पठाइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया