तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन आगामी २०८३ सालको मङ्सिरभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ।
नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महाधिवेशन निर्धारित समयमा नै हुनुपर्ने स्पष्ट गर्नुभयो।
“म पार्टीको महाधिवेशन निर्धारित मितिमा सम्पन्न हुनुपर्छ भन्ने पक्षमा छु,” डा. कोइरालाले भन्नुभयो, “महाधिवेशन ढिलो हुँदै गएमा त्यसले पार्टीलाई फाइदा गर्दैन।”
उहाँले २०८४ सालमा हुने आमनिर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नु आवश्यक रहेको उल्लेख गर्दै, निर्वाचनहरू समयमै हुने भएकाले त्यसको तयारीका लागि पहिल्यैदेखि योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने सुझाव दिनुभयो।
नेता कोइरालाले तनहुँ विगतमा कांग्रेसको बलियो साङ्गठनिक आधार भएको जिल्ला भए पनि हाल त्यो अवस्था नरहेकाले पुनः सशक्त बनाउन आवश्यक रहेको बताउँदै, त्यसतर्फ सबै नेताकार्यकर्ताको ध्यान जानु पर्नेमा जोड दिनुभयो।
सदस्यता नवीकरण प्रक्रियामा कमजोरी देखिएको खण्डमा वडास्तरसम्म पुगेर कार्यकर्तालाई सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।
प्रतिक्रिया