२१ औं राष्ट्रिय धान दिवस प्यूठानमा पनि मनाइयो

माण्डवी अनलाइन
माण्डवी अनलाइन १६ असार २०८१, शनिबार
4 Min Read
Aa

रविन विश्वकर्मा,प्यूठान ।
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव प्यूठानमा पनि बिभिन्न कार्यक्रम गरेर मनाईंएको छ । जिल्लामा धान रोपाई, धान खेतमा माछा एवंम हांँस पालन कार्यक्रको शुभारम्भ,उत्कृष्ट कृषकलाई सम्मान गरी दिवस मनाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई र एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्युठानको आयोजना, जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा प्रभात सक्रिय महिला कृषक समूह प्युठानको समन्वयमा प्युठान नगरपालिका–८ स्थित गेजवाङमा दिवस मनाइएको हो । “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका दिवस मनाईएको हो । दिवसको अवसरमा धान रोपिएको खेतमा माछाका भुरा र हाँसका बच्चाहरु छोडि धान खेतमा माछा एवं हाँस पालन शुभारम्भ गरिएको छ । दिवसकै अवसरमा परियोजना कार्यान्वयन एकाइले जिल्लामा ब्यवसायिक रुपमा कृषि तथा पशुपालन गदै आएका विभिन्न विधाका उत्कृष्ट १३ जना र कृषि तथा पशुपन्छी कार्यालयले ८ जना कृषकलाई सम्मान गरेको छ । कृषकहरुले गरेका असल कामको श्रव्यदृष्य सामग्रीहरु प्रदर्शन गदै सम्मान गरिएको थियो । कृषि सम्बन्धी कार्यक्रमहरुमा जिल्ला प्रहरी कार्यालय प्युठानले गरेको समन्वय तथा सहकार्यका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वर थापालाई समेत सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले देशको आर्थिक बिकासमा कृषकको ठुलो भुमिका रहेको बताउनुभयो । खाद्यान्न,तरकारी,फलफुल,मासु,दुध लगायतका अन्य हरेक क्षेत्रमा आत्मनिर्भर गराउन निरन्तर योगदान गर्ने बास्तबिक कृषकलाई समेट्दै संघ प्रदेश र स्थानिय तीनै तहका सरकारले कृषि क्षेत्रको कार्यक्रमलाई अगाडि बढाउुपर्ने बताउनुभयो । जिसीले स्थानिय तहबाट वितरण गरिने बिभिन्न खालका अनुदानका कार्यक्रममा बास्तविक किसान अटाउन नसकेको भन्दै यस्ता किसानहरुको पहिचान तथा वर्गिकरण गरि अनुदानका कार्यक्रमलाई अगाडि बढाउन सके कृषि उत्पादनलाई बढउन सकिने बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले कृषि उत्पादन बढाउन कृषकलाई ब्यवसायीकरण गर्न जरुरी रहेको बताउनुभयो । राज्यले कृषि क्षेत्रमा धेरै लगानी गरे पनि कृषकको ज्ञान,सिप,क्षमता अभिवृद्धि गर्ने खालका ब्यवसायिक तालिम उपलब्ध गराउन नसक्दा सोचे अनुरुपको उत्पादन हासिल गर्न नसकेको बताउनुभयो । अझै पनि परम्परागत रुपमा खेती गर्ने प्रवृत्ति कायमै रहेकाले आधुनिकिकरण गदै ब्यवसायलाई अगाडि बढाउन सुझाव दिनुभयो।

प्रजिअ अर्यालले प्युठानको विकट भौगोलिक अवस्था, सिँचाई सुविधा, मलको व्यवस्था, साधनश्रोत, जनशक्ति नहुनु प्रमुख चुनौतीको रुपमा रहेको बताउनुभयो । जिल्लामा धान लगायत अन्य खाद्यान्न, प्रशस्त मात्रामा उत्पादन नहुदा बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था रहेकाले यसलाई मध्येनजर गदै जिल्लालाई धान्ने गरी उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईका प्रमुख चुमानसिंह गिरीले कार्यपत्र प्रस्तुत गदै नेपालमा कृषि क्षेत्रको योगदान २४% रहेको जसमा धानको योगदान ५ देखि ६ प्रतिशत रहेको बताउनुभयो । जिल्लामा ६ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएपनि जिल्लालाई पुग्ने धान उत्पादन हुन नसकेको बताउनुभयो । जिल्लामा ९ हजार मेक्टिन धान अपुग रहेको बताउनुभयो । कार्यालय प्रमख गिरीले अहिले जिल्लामा धानको उत्पादन तथा उत्पादकत्व बढाउन चैतेधान,विस्तार,आधुनिक प्रविधिलाई जोड् दिदै कृषकका लागि बिभिन्न प्रकारका क्षमता विकासका तालिम तथा कार्यक्रम संञ्चालन गरेको बताउनुभयो ।

यस्तै पशुपन्छी विकास कार्यालयका निम्त्ति प्रमुख उमेश चन्द्र श्रेष्ठले कृषि उत्पादन बढाउन सरकारले विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको बताउनुभएको थियो । उहाँले अब असारे धानमा मात्र निर्भर नभई चैते धान उत्पादनमा सबैले जोड दिनुपर्ने बताउनुभयो ।

प्रभात सक्रिय महिला कृषक समूहका अध्यक्ष बसन्ता के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । जिल्ला समन्वनय समिति प्युठानका प्रमुख धरम बहादुर जि.सि.को प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको विशिष्ट आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापा, एकाई प्रमुख चुमानसिंह गिरी, पशुपंन्छी विकास कार्यालयका प्रमुख उमेश चन्द्र श्रेष्ठ, जिल्ला स्थित सुरक्षा निकाय र अन्य कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधीहरु, सञ्चारकर्मी, कृषक लगायतको उपस्थिति थियो । कार्यक्रमको संञ्चालन परियोजनाका नायव प्राविधिक सहायक विपिन खड्काले गर्नुभएको थियो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्