कृषि बिमा कार्यान्वयनका लागि खलंगामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

माण्डवी अनलाइन
माण्डवी अनलाइन १४ असार २०८१, बिहीबार
4 Min Read
Aa

रविन विश्वकर्मा, प्यूठान ।
प्युठानमा कृषि बिमा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई प्युठानको आयोजनामा कार्यालयको सभाहलमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका सहभागीहरुले कार्यविधि तथा मापदण्डमा समस्या हुदाँ कृषि बिमा कार्यान्वयनमा समस्या आएको बताएका छन् । लामो झनझिलो प्रकृया तथा स्पष्ट निति नहुदा कृषि बिमामा आफुहरु अलमल परेको उनीहरुको भनाइ रहेको थियो । साथै उनीहरुले परियोजनाले कृषि क्षेत्रमा राम्रो काम गरेको उल्लेख गर्दै संघ,प्रदेश र स्थानीय तहहरुका साथै अन्य सम्बन्धित सरोकारवाला निकायहरुले बिमाको बिषयमा बस्ती तथा समुदाय स्तरमा अभिमुखिकरण कार्यक्रम संञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले कृषि बिमा कार्यान्वयनको लागि गाउँपालिकाले पहल गर्ने बताउनुभयो । कार्यान्वयन पक्ष फितलो हुँदा केही समस्या देखिएकाले ऐन,कानुनलाई मान्दै कृषकलाई कसरी ब्यवसायीकरण गराउन सकिन्न भन्ने बिषयमा सोच्ने बेला आएको बताउनु भयो । जिल्लामा प्रर्याप्त मात्रमा कृषि तथा पशु उत्पादन हुन नसक्दा बाहिरी जिल्लाबाट बस्तु आयात गरी बजारको माग धान्नु परेको बताउदै कृषि पेशालाई आधुनिकिकरण गर्दै उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन ईकाई प्युठानका कार्यालय प्रमुख चुमानसिंह गिरीले कृषि तथा पशुपन्छी बिमा आवश्यक रहेको बताउनुभयो । कृषकले कृषि बिमामा चासो नदिदा महामारी तथा अन्य विपदजन्य घटनाबाट ठुलो क्षति ब्यहोरी रहेको बताउनुभयो । बेलाबखत आइपर्ने विपद एवम् अन्य संभावित जोखिमबाट हुन सक्ने आर्थिक भार कम र क्षति न्युनिकरण गर्न हरेक कृषकले कृषि बिमा गर्न जरुरी रहेको बताउनुभयो । विदबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गरी बिमाप्रती कृषकलाई आकर्षण गर्न राज्यले कृषि बिमामा ८० प्रतिशत र स्थानिय तहले २० प्रतिशत सम्म छुट गर्ने ब्यवस्था गरेको बताउनुभयो । राज्यले कृषि तथा पशुपालन क्षेत्रलाई बिमासंग जोडि प्राथमिकताका साथ अगाडि बढाए पनि बिमाप्रति कृषकले खासै चासो नदेखाएको कार्यालय प्रमुख गिरीले बताउनुभयो । बिमाको आवश्यकता तथा महत्वका बारेमा आम कृषकलाई बुझाउन नसक्नु,भौगोलिक विकटता,कृषकसंग वित्तीय पहुँचको कमी, लगायत अन्य कारण कृषकलाई कृषि बिमामा जोड्न नसकिएको बताउनुभयो ।

नेशनल इन्स्सोरेस रिलेशनसिप अधिकृत जनक ओलीले जिल्लामा पशुबिमा राम्रो भएपनि तरकारी ,खाद्यान्न र बाली बिमा गर्ने कृषकको संख्या शुन्य नरहेको बताउनुभयो । जिल्लामा सबै भन्दा बढि बाख्रा,गाई,भैंसी सुगुर,बंगुरको बिमा गरिएको र केही कृषकले अलैंची,कफीको बिमा गरेको बताउनुभयो । कृषि तथा पशु बिमाको बिषयमा अनविज्ञ हुदाँ अझै पनि कृषकहरूको ठुलो समूह कृषि बिमाको पहुँच भन्दा बाहिर रहेको ओलीले बताउनुभयो । प्युठान जिल्लामा ७३ जना कृषि बिमा अभिकर्ता छन् । कार्यक्रममा बिमा,यसको आवश्यकता तथा महत्व, कृषि तथा पशुपन्छि बिमाको अवस्था,बिमा प्रदान गर्ने अवस्था, बिमा प्रकृया,आवश्यक कागजात, पशु बिमा बापत उपलब्ध सेवासुविधा,बिमा प्रभावकारी कार्यान्वयनका समस्या तथा चुनौतीहरु लगायतका बिषयमा रिलेशनसिप अधिकृत जनक ओलीले प्रशिक्षण दिनुभएको थियो ।

यस्तै कार्यक्रममा बिमादावी रकम भुक्तानी सम्बन्धमा जिल्ला प्रहरी कार्यालय प्युठानका असई राजेन्द्र थारुले जानकारी गराउनु भएको थियो । धान जोन संञ्चालक समन्वय समितिका संयोजक श्याम थापा,जिल्ला बाख्रा ब्यवसाय संघका अध्यक्ष राम बहादुर एमसी लगायतले आफ्नो भनाइहरु राख्नु भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन ईकाई प्युठानका कार्यालय प्रमुख चुमानसिंह गिरीको अध्यक्षमा भएको कार्यक्रममा तरकारी जोन संञ्चालक समन्वय समितिका संयोजक लोकराज पोख्रेल, लगायत अन्य कृषि तथा पशुपालक कृषकहरुको सहभागीता रहेको थियो । परियोजनाका कृषि अधिकृत जयन्ती मल्लले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको संञ्चालन कार्यालयका नायव प्राविधिक सहायक विपिन खड्काले गर्नुभएको थियो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्