बिरुवा उत्पादन गर्न झिमरुकमा नर्सरी निर्माण गरिँदै

माण्डवी अनलाइन
माण्डवी अनलाइन १६ पुष २०८०, सोमबार
2 Min Read
Aa

बासुदेब गिरी (झिमरुक)
झिमरुक गाउँपालिकाले बिरुवा उत्पादन गर्न नर्सरी निर्माणको काम थालेको छ । झिमरुक गाउँपालिका–५ मच्छी स्थित सेवा केन्द्रको जग्गामा नर्सरी निर्माणको काम सुरु गरेको हो । भिरालो जग्गालाई सम्याउँदै गहरा निर्माण गरेर नर्सरी निर्माण गर्न लागिएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।
प्युठानको उत्तरी पूर्वी झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रका किसानलाई आयआर्जनसँग जोडेर लैजाने उदेश्यले नर्सरी निर्माण गर्न लागिएको अध्यक्ष महतरा क्षेत्रीको भनाई छ । आगामी सिजनदेखि यस क्षेत्रका किसानले मच्छिको नर्सरीबाट आवश्यक बिरुवा पाउने र त्यसै अनुसार काम अगाडि बढाइएको अध्यक्ष एमसीले जानकारी दिनुभयो । यस क्षेत्रमा नर्सरी नहुँदा किसानलाई जिल्लामा गएर बिरुवा लिने झन्झट भएको भन्दै जिल्ला वन कार्यालय र झिमरुक गाउँपालिकाको समन्वयमा नर्सरी निर्माणको सुरु गरिएको अध्यक्ष एमसीले बताउनु भयो ।
अहिले नर्सरीको काममा गाउँपालिकाले बजेट व्यवस्था गरेको छ । झिमरुक सब डिभिजन वन कार्यालयका अधिकृत कमलप्रसाद पुनका अनुसार ‘निर्माणको काम सकिएपछि बिरुवा उत्पादनको काम यसै वर्षबाट सुरु हुने छ ।’ अहिले कुन–कुन बिरुवा यो क्षेत्रमा राम्रो उत्पादन हुने गर्छ, सर्वेक्षण भैरहेको बताउनु भयो । भुगोलको आधारमा बिरुवा उत्पादन गर्ने र उत्पादित बिरुवा किसानलाई वितरण गर्ने वन अधिकृत पुनले जानकारी दिनुभयो ।
निर्माण हुन लागेको नर्सरीमा करिब ३० हजार बिरुवा उत्पादन गर्न सकिने छ । तत्कालको लागि अमला, दालचिनी, टिमुर, सुन्तला र कमला जातका बिरुवालाई उत्पादन गर्ने तयारी रहेको वन अधिकृत पुनले जानकारी दिनुभयो । नर्सरी बनाउने जग्गा अभावमा बिरुवा उत्पादन गर्न सकिएको थिएन । उनले पालिकाले जग्गा निर्माण गरिदिएपछि तत्काल बिरुवा उत्पादन गर्न वन कार्यालयल पहल थालेको हो ।
सोमबार गाउँपालिकाका अध्यक्ष महतरा क्षेत्रीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही, वन अधिकृत कमलप्रसाद पुन, वडा नम्बर १ र ८ का वडाध्यक्ष धुर्वराज खनाल र तुलस बहादुर बस्नेत लगायतले निर्माणाधीन नर्सरीको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
साभारः सौर्य दैनिक

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्