भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा प्यूठानको खलङ्गामा दीप प्रज्वलन गरिएको छ। जिल्ला प्रशासन कार्यालय प्यूठानको अगुवाइमा सोमबार साँझ खलङ्गामा दीप प्रज्वलन तथा मौनधारण कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, सामाजिक क्षेत्रका व्यक्तित्व तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले सडकमा निर्माण गरिएको नेपालको राष्ट्रिय झण्डासहितको आकृतिमा दीप प्रज्वलन गर्दै भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
गत १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीको भेलमा परी कतिपयले ज्यान गुमाएका थिए भने कतिपय बाढीका कारण सुरुङ तथा अन्य स्थानमा फसेर मृत्यु भएको थियो। प्राकृतिक विपद्का कारण ठूलो मानवीय क्षति भएपछि मृतकहरूको सम्झनामा देशभर श्रद्धाञ्जली तथा दीप प्रज्वलनका कार्यक्रम आयोजना गरिएको हो।
राष्ट्रिय शोकको भावनासहित आज देशका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ भने सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
भोटेकोशी बाढिमा परि प्यूठानका ९ जना बेपत्ता छन् ।
प्रतिक्रिया