logo

  • ६ श्रावण २०८३, बुधबार | Wed, 22 Jul 2026

  •      Listen Radio Live

    धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि

    धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि

    सुदूरपश्चिम । हरेक वर्ष नयाँ योजना घोषणा गर्ने परम्पराभन्दा फरक बाटो रोज्दै कैलालीको धनगढी उपमहानगरपालिकाले प्रभावकारी कार्यक्रमलाई अभियानकै रूपमा निरन्तर सञ्चालन गर्ने नीति लिएको छ ।

    स्वास्थ्य, सरसफाइ, पर्यटन, सामाजिक सुरक्षा र स्वरोजगारका कार्यक्रमलाई नागरिकको सहभागितासँग जोड्दै उपमहानगरले विकासलाई दिगो र समृद्धिलाई साझा लक्ष्य बनाउने अभ्यास गरिरहेको छ ।

    यसै रणनीतिअनुसार यहाँ ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’, ‘हाम्रो धनगढी, सफा धनगढी’, ‘उज्यालो धनगढी’, ‘सन्ध्याकालीन बजार’, ‘महिला उद्यम बजार’ र ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ लगायत कार्यक्रम सञ्चालनमा छन् । यी कार्यक्रमलाई सुरुआतदेखि नै प्राथमिकताका साथ अभियानकै रूपमा सञ्चालन गरिएको उपप्रमुख नन्दकला राना बताउनुहुन्छ ।

    “भौतिक पूर्वाधार विकासका योजना त छँदैछन्, नागरिकको स्वास्थ्य, शिक्षा, स्वरोजगार, सामाजिक सुरक्षा, पर्यटन क्षेत्र जागरणका कार्यक्रमलाई हामीले जोड दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “यसले सबै उमेर समूह, विविध क्षेत्र र आवश्यकता भएका नागरिकलाई पनि हाम्रो अभियानमा जोड्छ ।”

    गत असारमा सम्पन्न १५औँ नगरसभाले पारित रु दुई अर्ब ६४ करोड ६४ लाखभन्दा बढीको बजेटमा ती अभियानलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट बताउनुहुन्छ । उहाँका अनुसार नागरिकको आवश्यकता र कार्यक्रमको प्रभावका आधारमा दीर्घकालीन प्रतिफल दिने योजनालाई अभियानकै रूपमा अघि बढाइएको हो ।

    “कतिपय काम एकाध वर्ष सञ्चालन गरेर प्रतिफल देखिँदैन । नागरिकको आवश्यकता र कार्यक्रमको प्रभावका आधारमा निरन्तरता दिनुपर्ने हुन्छ”, उहाँ भन्नुहुन्छ, “नगरप्रमुखलगायत जनप्रतिनिधिको सोहीअनुसारको सोच भएकाले उपमहानगरले कतिपय योजनालाई अभियानको रूपमा सञ्चालन गरेर सेवा विस्तार गरिरहेको छ ।”



    mandavionline mandavionline    
  • ४ श्रावण २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP