माण्डवी अनलाइन प्युठान। प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भिंग्री बसपार्क जाने मोड नजिक चकचके क्षेत्रमा शुक्रबार दिउँसो ईभी गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब ३ बजे चकचकेबाट भिंग्रीतर्फ जादै गरेको लु.प्र. ०१–००१ ज ०७०८ नम्बरको ईभी गाडी र स्वर्गद्वारी मन्दिरबाट भिंग्रीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ४७ एक्स ५२२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा मोटरसाइकल चालक भारतको बलरामपुर जिल्ला, गेसरीथान निवासी ३० वर्षीय सुशिल विश्वकर्माको बायाँ हात र दायाँ कम्मरमा चोट लागेको छ।
यस्तै मोटरसाइकलमा पछाडि सवार उनका ७ वर्षीय छोरा रौनक विश्वकर्माको मुखमा सामान्य चोट लागेको छ भने अर्का सवार ३६ वर्षीय प्रिन्स बर्माको दुवै घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनालाई प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ। ईभी गाडी कपिलवस्तुको शिवराज नगरपालिका–१ निवासी २६ वर्षीय बसन्त एमसीले चलाएका थिए।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय भिंग्रीबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर रावलको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा संलग्न ईभी गाडी, मोटरसाइकल तथा दुवै चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया