logo

  • २५ जेष्ठ २०८३, सोमबार | Mon, 08 Jun 2026

  •      Listen Radio Live

    रास्वपा प्यूठानको नेतृत्वमा पोख्रेलको वर्चस्व, प्रतिस्पर्धी सुनार प्यानल पराजित

    रास्वपा प्यूठानको नेतृत्वमा पोख्रेलको वर्चस्व, प्रतिस्पर्धी सुनार प्यानल पराजित

    प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको जिल्ला अधिवेशनबाट विकास पोख्रेल अध्यक्षमा निर्वाचित हुनुभएको छ। आइतबार जुम्रीस्थित होटल आयुष्मामा सम्पन्न निर्वाचनमा पोख्रेलले १५३ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी बमबहादुर सुनारले ४४ मत प्राप्त गर्नुभएको थियो ।

    अधिवेशनमा वर्तमान जिल्ला सभापति पोख्रेल र माण्डवी गाउँपालिकाका निवर्तमान अध्यक्ष सुनारको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएका थिए। प्रतिनिधिहरूबीच पोख्रेलको समूहलाई पार्टी सभापति रवि लामिछाने निकट तथा सुनारको समूहलाई वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह निकट प्यानलका रूपमा चर्चा गरिएको थियो।

    निर्वाचनअघि मतदाता नामावलीमा त्रुटि रहेको र सभापतिका उम्मेदवार बमबहादुर सुनारकै नाम समेत समावेश नभएको भन्दै सुनार पक्षले निर्वाचन स्थगनको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएको थियो। त्यसपछि केही समय मतदान प्रक्रिया स्थगित भए पनि आवश्यक छलफलपछि पुनः मतदान कार्य सञ्चालन गरिएको थियो।

    निर्वाचनमा कुल २०३ मत खसेकोमा २०२ मत गणना गरिएको निर्वाचन समितिले जनाएको छ।

    उपाध्यक्ष पदमा केशवबहादुर महतराले १५९ मत प्राप्त गर्दै विजयी भए भने उहाँका प्रतिस्पर्धी दलबहादुर केसीले ३७ मत पाउनुभयो। सचिवमा यज्ञवीर पाण्डे १०६ मतसहित विजयी हुँदा बलबहादुर महतराले ८१ मत प्राप्त गर्नुभयो। सहसचिव पदमा डा. ओमहरि भट्टराई ११९ मतसहित निर्वाचित हुनुभयो भने मदनकुमार पोख्रेलले ५० मत प्राप्त गर्नुभएको थियो।

    सदस्य पदतर्फ विशाल पौडेल ११६ मत, शंकर भण्डारी ७४ मत, शिशिर रिजाल ५६ मत तथा रेगमबहादुर पुरी ५६ मतसहित निर्वाचित हुनुभएको छ। प्रतिस्पर्धी सदस्य उम्मेदवारहरू मदन भण्डारीले ५३, मिनराज सुवेदीले १८ र खुमबहादुर खत्रीले ९ मत प्राप्त गर्नुभएको थियो । सदस्य पदमा खिमे सुनार, विमला रावल क्षेत्री, सीता थापा र विपना सुनार निर्विरोध निर्वाचित हुनुभएको थियो।

    निर्वाचन परिणामसँगै रास्वपा प्यूठानको नयाँ नेतृत्वमा विकास पोख्रेलको प्यानलको स्पष्ट वर्चस्व देखिएको छ। नयाँ नेतृत्वले संगठन विस्तार, पार्टी सुदृढीकरण र आगामी राजनीतिक रणनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।



    mandavionline mandavionline    
  • २५ जेष्ठ २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP