logo

  • ३० चैत्र २०८२, सोमबार | Mon, 13 Apr 2026

  •      Listen Radio Live

    एकै वर्षमा ८ लोक सेवा परीक्षा पास गर्ने प्यूठानकी सीता पोख्रेलको प्रेरक यात्रा

    एकै वर्षमा ८ लोक सेवा परीक्षा पास गर्ने प्यूठानकी सीता पोख्रेलको प्रेरक यात्रा

    सानैदेखि ठूलो सपना बोकेकी प्युठानकी ३० वर्षीया सीता पोख्रेलले स्वअध्ययनबाटै एकै वर्षमा लोक सेवा आयोगअन्तर्गत विभिन्न संस्थाहरूले लिएका ८ वटा लिखित परीक्षा उत्तीर्ण गरेर उल्लेखनीय सफलता हासिल गरेकी छन्। कुनै पनि तयारी कक्षा नलिई केवल आफ्नै मेहनत, अनुशासन र दृढ आत्मविश्वासका आधारमा उनले यो उपलब्धि हासिल गरेकी हुन्। उनको यो सफलता अहिले हजारौँ युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

    सीताले नेपाल आयल निगमको छैटौँ तह, नेपाल नागरिक उड्डयन प्राधिकरण ९प्राविधिक० पाँचौँ तह, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ तह, राष्ट्रिय परीक्षा बोर्डको छैटौँ तह, त्रिभुवन विश्वविद्यालय सेवा आयोगको छैटौँ तह, गुठी संस्थानको छैटौँ तह, नेपाल विद्युत् प्राधिकरण ९प्राविधिक० सातौँ तह र हालै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको छैटौँ तहमा नाम निकाल्न सफल भएकी छन्। एउटै वर्षमा यति धेरै संस्थाहरूको प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गर्नु आफैँमा उल्लेखनीय उपलब्धि हो।

    संघर्षदेखि सफलतासम्मको यात्रा
    प्युठानको सामान्य परिवारमा जन्मिएकी सीताले आफ्नो अध्ययन यात्रा सरकारी विद्यालयबाट सुरु गरेकी थिइन्। सीमित स्रोत(साधन, साधारण पारिवारिक अवस्था र समाजमा विद्यमान परम्परागत सोचका बाबजुद पनि उनले आफ्नो लक्ष्यलाई कहिल्यै ओझेलमा पर्न दिइनन्। सानैदेखि आत्मनिर्भर बन्ने सोच राखेकी सीताले कठिन परिस्थितिलाई अवसरका रूपमा लिन सिकिन्।

    उच्च शिक्षाको यात्रामा पनि उनले निरन्तरता छोडिनन्। पढाइसँगै घरायसी काम, सामाजिक दायित्व र व्यक्तिगत जिम्मेवारीलाई सन्तुलनमा राख्दै उनले आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढिरहिन्। यही निरन्तरताले उनलाई आजको सफल स्थानसम्म पुर्‍याएको हो।

    २०७४ सालमा विवाहपछि उनको जीवनमा थप जिम्मेवारी आयो। दाङमा बसोबास गर्दै उनले घरपरिवार सम्हाल्नुपर्ने, सानो छोराको हेरचाह गर्नुपर्ने र सामाजिक अपेक्षाहरू पूरा गर्नुपर्ने अवस्था थियो। सामान्यतया यस्ता परिस्थितिमा धेरै महिलाहरूले आफ्ना व्यक्तिगत सपना थाती राख्ने गर्छन्। तर सीताले भने यी सबै चुनौतीहरूलाई व्यवस्थापन गर्दै आफ्नो पढाइलाई निरन्तरता दिइरहिन्। समय व्यवस्थापन, आत्मअनुशासन र लक्ष्यप्रतिको स्पष्ट दृष्टिकोणले उनलाई सधैँ अगाडि बढाइरह्यो।

    हाल सीता पोख्रेल नेपाल विद्युत् प्राधिकरण, रामेछापमा सातौँ तहको प्रशासनिक अधिकृतका रूपमा कार्यरत छिन्। सरकारी विद्यालयबाट अध्ययन सुरु गरेर सरकारी जिम्मेवारी सम्हाल्नु उनको मेहनत, लगनशीलता र दृढ संकल्पको प्रतिफल हो।

    उनको उपलब्धिले विशेष गरी ग्रामीण भेगका विद्यार्थीहरूलाई “स्रोतको कमीले होइन, सोच र प्रयासको कमीले मात्र सफलता टाढा हुन्छ” भन्ने सशक्त सन्देश दिएको छ।

    परिवारको साथ(सफलताको आधार
    सीताको सफलतामा उनको व्यक्तिगत मेहनतसँगै पारिवारिक सहयोग पनि उत्तिकै महत्त्वपूर्ण छ। उनका श्रीमान् माधवमणि पौडेल, जो संघीय सरकारको कानुन मन्त्रालयमा कार्यरत छन्, उनले सीतालाई अध्ययनका लागि अनुकूल वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

    सीता भन्छिन्, “घरभित्रको सहकार्य र समझदारीले नै बाहिरको सफलता सम्भव बनाउँछ। पढ्ने इच्छा भएमा कुनै पनि बाधाले रोक्न सक्दैन।” परिवारको साथ, समझदारी र सहयोगले नै आफूलाई निरन्तर अघि बढ्न प्रेरित गरेको उनी बताउँछिन्।

    घरकी ६ सन्तानमध्ये माइली छोरीका रूपमा हुर्किएकी सीता पोख्रेलको यो यात्रा आजको युवा पुस्ताका लागि केवल सफलता कथा मात्र होइन, एउटा प्रेरणादायी मार्गदर्शन पनि हो।

    विशेष गरी ग्रामीण पृष्ठभूमिका विद्यार्थीहरूका लागि उनको उपलब्धिले प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन महँगा कोचिङ, स्रोत वा विशेष पहुँच अनिवार्य हुँदैन, दृढ इच्छाशक्ति, सही योजना र निरन्तर मेहनत गर्‍यो भने अवश्य सफल भइन्छ भन्ने स्पष्ट सन्देश दिएको छ।

    साभारः प्रशासन



    mandavionline mandavionline    
  • २१ चैत्र २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP