माण्डवी अनलाइन, प्युठान।
झिमरुक गाउँपालिकाले अस्थायी र करार सेवाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय गरेको छ।
मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका अनुसार यस निर्णयपछि पालिकाका विभिन्न तहमा कार्यरत ४९ जना कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले वार्षिक करिब ३० लाख रुपैयाँ बजेट छुट्याएको छ। जसको स्रोत आन्तरिक आम्दानीबाट व्यवस्थापन गरिने छ ।
हाल पालिकामा कार्यरत कर्मचारीलाई मासिक करिब १४ लाख ४० हजार रुपैयाँभन्दा बढी तलब भुक्तानी हुँदै आएको छ। सामाजिक सुरक्षा कोषमा सहभागि भएपछि कर्मचारीको भविष्य सुरक्षित हुने विश्वास गाउपलिकाले लिएको छ।
अध्यक्ष महतरा क्षेत्रीले लामो समयदेखि सेवा गर्दै आएका कर्मचारीहरू सेवा अवधि पूरा भएपछि आर्थिक रूपमा असहाय हुन नपरोस भन्ने उद्देश्यले यो व्यवस्था गरिएको बताए। उनका अनुसार वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको यो योजना यही माघ महिनादेखि लागू भइसकेको छ। चालु आर्थिक वर्षमा मात्र पालिकाले करिब १२ लाख रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने तयारी गरेको छ।
प्रतिक्रिया