logo

  • ५ कार्तिक २०८३, बुधबार | Wed, 21 Oct 2026

  •      Listen Radio Live

    माडीमा विकासको आशा जगाउँदै डा. पोख्रेल, स्वर्गद्वारी अन्तर्राष्ट्रिय तीर्थस्थल बन्दै

    माडीमा विकासको आशा जगाउँदै डा. पोख्रेल, स्वर्गद्वारी अन्तर्राष्ट्रिय तीर्थस्थल बन्दै

    प्यूठान। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवार प्रा. डा. गोविन्दराज पोख्रेलले माडी क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाउनुभएको छ। अभियानका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले स्वर्गद्वारी क्षेत्रलाई विश्वस्तरीय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    घरदैलो भेटघाटका क्रममा डा. पोख्रेलले माडी क्षेत्रको दीर्घकालीन विकासका लागि सिँचाइ सुविधाको विस्तार, भौतिक पूर्वाधारको सुदृढीकरण तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिक एजेन्डाका रूपमा अघि बढाइने बताउनुभयो। स्वर्गद्वारीको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन आवश्यक संरचना र नीति निर्माणमा आफू दृढ रहने उहाँको भनाइ थियो।

    स्थानीय मतदाताले माडी भेग लामो समयदेखि भौगोलिक, राजनीतिक तथा विकासका हिसाबले उपेक्षित हुँदै आएको गुनासो राख्दै अब कागजी प्रतिबद्धता होइन, व्यवहारिक र ठोस परिवर्तन चाहिएको बताएका थिए। उनीहरूले माडी नदीका दुवै किनार जोड्ने पक्की पुल निर्माण, स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधार, रोजगारीका अवसर सिर्जना तथा आधुनिक प्रविधिमा सहज पहुँच सुनिश्चित गर्न स्पष्ट र प्रभावकारी पहल आवश्यक रहेको धारणा व्यक्त गरे।