प्रकाश न्यौपाने, प्युठान|
मल्लरानी गाउँपालिका–३, बर्बोटस्थित श्री भानुभक्त माध्यमिक विद्यालयले स्थापना दिवसको ५० औँ वर्षगाँठको अवसरमा यही मंसिर २९ देखि पौष २ गतेसम्म आयोजना गर्न लागिएको स्वर्ण महोत्सवको तयारी तीव्र गतिमा अघि बढेको छ।
महोत्सवको मूल नारास्वरूप “हाम्रो विद्यालय, हाम्रो दायित्व” तय गरिएको छ। विद्यालयका अनुसार महोत्सव विविध सांस्कृतिक, शैक्षिक र सम्मान कार्यक्रमहरू सहित सम्पन्न हुनेछ। स्वर्ण महोत्सव मूल आयोजक समितिको सचिवालयद्वारा शुक्रबार सम्पन्न बैठक तथा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवलाई सफल,ऐतिहासिक, गरिमामय र स्मरणीय बनाउनका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। बैठकले आर्थिक संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

यसअन्तर्गत जिल्लाका ९ वटै स्थानीय तह, विभिन्न वडाहरू, व्यापारी, उद्योगी, शुभचिन्तक, शिक्षक, आम सरोकारवाला तथा पूर्व विद्यार्थीहरूबाट सहयोग जुटाइनेछ। सहयोगी दाताहरूको सम्मान सम्बन्धी व्यवस्था पनि बैठकले तय गरेको छ। रु. १०,००० भन्दा माथि सहयोग गर्ने दाताहरूको नाम स्वर्ण महोत्सव स्तम्भमा शिलालेखमार्फत सूचीकृत गरिनेछ भने रु. ५,००० देखि ९,९९९ सम्म सहयोग गर्ने दाताहरूको नाम विद्यालयको भित्तामा शिलालेखमार्फत सूचीकृत गरिनेछ। प्रचार–प्रसार र पारदर्शिताका लागि सूचना डेस्क स्थापना गरिने भएको छ।
यसमार्फत महोत्सवसम्बन्धी जानकारी, सामाजिक सञ्जालमार्फत सहयोगी दाताहरूलाई सार्वजनिक धन्यवाद र सम्मान, साथै अन्य प्रचार सामग्री प्रसारण गरिनेछ। योजना कार्यान्वयनलाई चुस्त बनाउन विभिन्न उप–समितिहरू गठन गरिने निर्णय भएको छ। साथै आगामी शैक्षिक सत्रदेखि विद्यालयका लागि स्कुल भ्यानको व्यवस्था र शिक्षण–सिकाइलाई ICT–मैत्री बनाउने दीर्घकालीन लक्ष्य पनि प्रस्तुत गरिएको छ। मुल आयोजक समितिले सम्पूर्ण शुभेच्छुक, अभिभावक, व्यापारी, संघ–संस्था र विशेषगरी विभिन्न प्रतिष्ठित स्थानमा कार्यरत पूर्व विद्यार्थीहरूलाई आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया