रविन विश्वकर्मा, प्युठान । मल्लरानी गाउँपालिकामा कक्षा ८ को ग्रेडवृद्धि (पुरक) परीक्षा स्थगित गरिएको छ । भोलि चैत २८ देखि २९ गते २ दिन सम्म संचालन हुने गरि तय गरिएको गाउंपालिका स्तरीय कक्षा ८ को ग्रेडवृद्धि पुरक परीक्षा अर्को सूचना तथा परीक्षा समय तालिका प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।
ऐरावती गाउँपालिकाले पनि चैत देखि २६ देखि २८ गते सम्म ३ दिन संचालन हुने गरि तय गरिएको गाउंपालिका स्तरीय कक्षा ८ को ग्रेडवृद्धि पुरक परीक्षा अर्को सूचना तथा परीक्षा समय तालिका प्रकाशित नभए सम्मका लागि स्थगित गरेको छ ।
शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासङ्घले चैत २५ गतेदेखि आम शैक्षिक हडतालको घोषणा गरेसंगै गाउँपालिकामा पुरक परीक्षा स्थगित गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद आचार्यले बताउनुभयो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेर चैत २० गते बुधवारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरुले प्रदर्शनलाई सरकारले वेवास्ता गरेपछि शिक्षक महासङ्घले शैक्षिक हडतालको घोषणा गरेको हो ।
सरकारले वार्ताका लागि बोलाए पनि महासङ्घले अस्वीकार गर्दै आएको छ । ऐन जारी हुने अवस्था नबनेसम्म वार्तामा नजाने महासङ्घको अडान छ । महासङ्घले वार्तामा बस्नुअघि संसद्को वर्षे अधिवेशन तत्कालै शुरू गर्न, विशेष अधिवेशन आह्वान गर्न वा अध्यादेशमार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने शर्त राखेको छ ।
प्रतिक्रिया