logo
  • २६ फाल्गुन २०८१, सोमबार | Mon, 10 Mar 2025

  •      Listen Radio Live

    प्युठान बीउ उत्पादनमा आत्मनिर्भर बन्दै, २५ क्विन्टल सिमि,राजमाको बिउ बाहिर निर्यात

    प्युठान बीउ उत्पादनमा आत्मनिर्भर बन्दै, २५ क्विन्टल सिमि,राजमाको बिउ बाहिर निर्यात

    रविन विश्वकर्मा, प्युठान । पछिल्लो समय प्युठान सिमि, राजमा लगायत तरकारीको बीउ उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण  परियोजना,परियोजना कार्यान्वयन इकाइ प्युठानले बीउ उत्पादनमा जोडदिसंगै जिल्ला आत्मनिर्भर बन्दै गएको हो । जिल्लाबाट यस बर्ष २५ क्विन्टल सिमि, राजमाको बिउ जिल्ला बाहिर निर्यात गरिएको छ । १६ क्विन्टल सिमि र ९ क्विन्टल राजमाको बीउ काठमाडौं लगायतका जिल्ला बाहिर निर्यात गरिएको कार्यालय प्रमुख चुमानसिंह गिरिले जानकारी दिनुभयो । कृषक, कृषि समुह, फर्म, सहकारी मार्फत विभिन्न स्थानमा उत्पादन गरेको बिउहरुलाई बहुउद्देश्यीय कृषि सहकारी संस्था कालिमाटी काठमाडौसंग सम्झौता गरी निर्यात गरेको बताउनुभयो । राजमा र सिमिको बीउ प्रति केजी २ सय ७५ रुपैंयामा बिक्रि गरिएको छ । गत बर्ष जिल्लाबाट राजमा र सिमिको बीउ गरी १९ क्विन्टल बाहिरी जिल्ला निर्यात गिरएको थियो । जिल्लामा यस बर्ष सिमिको बीउ मात्रै २५ क्विन्टल उत्पादन भएको छ । १६ क्विन्टल जिल्ला बाहिर निर्यात गरि बचेको ९ क्विन्टल जिल्लाकै विभिन्न स्थानमा खपत भएको कार्यालय प्रमुख गिरीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको झिमरुक गाउँपालिका ३ आहाल खोला, गौमुखि गाउँपालिका ५, मल्लरानी गाउँपालिका ३ धनुबासमा सिमिको बीउ तथा ऐरावती गाउँपालिका २ हरियाटारी र प्युठान नगरपालिका १ मा राजमाको बीउ उत्पादन गरिदै आएको छ ।

    ११ जनाको कृषक समूह गठन गरी केही बर्षदेखि सिमि, राजमा, तरकारी तथा तरकारी बीउ उत्पादन गर्दै आएको झिमरुक गाउँपालिका ३ आहाल खोला, भेडाबारी पिलाहाल्ना कृषक समूहका सचिव नबराज केसीले बताउनुभयो । यस बर्ष १५ क्विन्टल सिमिको बीउ बिक्री गरि ४ लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो । १२ क्विन्टल सिमिको बीउ काठमाडौ निर्यात तथा ३ क्विन्टल राजमा र सिमिको बीउ स्थानीयस्तरमा बिक्री गरेको बताउनुभयो । साथै ५० रोपनीमा आलु खेती गरेको समेत बताउनुभयो । भेडाबारीलाई सिमि पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ । समुहले गत बर्ष २०८०/८१ मा १२ क्विन्टल सिमिको बिउ उत्पादन गरेको थियो । अघिल्लो वर्षसम्म स्थानीय बजारमा बिक्री गर्दै आए पनि यसपटक कार्यालयको सहजीकरणमा बजार व्यवस्थापन गरेकोले बिक्री गर्न सहज भएको बताउनुभयो।

    यस्तै १२ रोपनी जग्गामा राजमाको बीउ उत्पादन गर्दै आएको ऐरावती गाउँपालिका २ हरियाटारी कृषक समुहका सचिव मिना कुमारी मल्लले बताउनुभयो । पहिले जिल्लामा बीउ पाउनै मुस्किल हुने गरेकोमा अहिले प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाको सहजीकरणमा बीउ उत्पादन मार्फत बीउमा आत्मनिर्भर भएको बताउनुभयो । बीउ बेचेरै वार्षिक तीन लाख रुपैयाँ आम्दानी भइरहेको उहाँले सुनाउनुभयो । यो बर्ष झण्डै १३ क्विन्टल राजमा उत्पादन भएको बताउनुभयो । गत बर्ष ४ क्विन्टल राजमाको बीउ जिल्ला बाहिर निर्यात गरेकोमा आज मात्रै ९ क्विन्टल बीउ काठमाडौं निर्यात गरेको उहाँले जानकारी दिनुभयो ।
    उत्पादित वस्तुको सहजै बजारीकरण भएसंगै जिल्लाका अन्य कृषक थप उत्साहित भएका छन् ।

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले कृषकहरुलाई बीउ उत्पादनका लागि आवश्यक बिउ, किट्नाशक बिषादी, कृषि औजार प्राविधिक सहयोग, सहजीकरण सहित उत्पादन भएको बीउ संकलन गरेर त्यसको बजारीकरण गरिदिदै आएको छ । बजारिकरणको लागि बजार खोजिरहनु पर्ने समस्याबाट मुक्त गर्न कृषकसंग पुर्व करार सम्झौता उत्पादन (बाइ ब्याक एग्रिमेन्ट) गरेर काम अगाडि बढाएको प्रमुख गिरीले बताउनुभयो ।

    कार्यालयले जिल्लामा देखिएको विभिन्न प्रकारका मौसमी तथा बेमौसमी तरकारीहरुको बीउ तथा उत्पादनलाई मध्येनजर गर्दै दुबैमा आत्मनिर बनाउन विशेष जोड दिएको छ । प्युठान नगरपालिकामा करिब ११ रोपनीमा बकुला सिमिको बीउ उत्पादन गर्नेगरी खेती सुरु गरिएको छ । साथै प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका ५ सरङ्कोटसंगै गौमुखि माविमा कृषि पढ्ने बिद्यार्थी मार्फत भक्तपुरे काक्राको बीउ उत्पादन गर्ने कार्यलाई समेत अगाडि बढाएको कार्यालयले जनाएको छ । तुलनात्मक लाभको बाली, छिटो प्रतिफल दिने, जिल्लाबाट निर्यात गर्न सकिने उपज रहेकोले आगामी दिनमा पनि तरकारी बीउ उत्पादन कार्यलाई निरन्तरता दिँदै जिल्लालाई आत्मनिर्भर बनाउनुको साथै जिल्लाबाट निर्यात गर्ने प्रमुख बालीको रुपमा स्थापित गर्ने गरी काम गरेको कार्यालयले जनाएको छ ।



    mandavionline mandavionline    
  • २४ फाल्गुन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP