माण्डवी अनलाईन, प्युठान ।
सहिद दिवसको अवसरमा नेपाली कांग्रेस प्युठानले सहिदहरूको सम्झनामा जिल्लाका ६४ वटै वडामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपालको प्रजातान्त्रिक आन्दोलन २००७ सालदेखि २०८२ सालसम्मका विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद तथा उनीहरूका परिवारको सम्मानका लागि जिल्लाव्यापी कार्यक्रम तय गरिएको नेपाली कांग्रेस प्युठानका सभापति विष्णुकुमार गिरिले जानकारी दिनुभयो। उहाँले मुलुक नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै जनप्रतिनिधिले निर्माण गरेको संविधानले प्रदत्त नागरिकका आधारभूत अधिकारको स्थायित्वका लागि कांग्रेस एकमतका साथ अघि बढेको बताउनुभयो।
आज हुने वडा स्तरीय कार्यक्रममार्फत आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी वडा स्तरमा निर्वाचन परिचालन तथा प्रचार–प्रसार समिति गठन गरिने कांग्रेस प्युठानका सचिव नरेन्द्र पुनले जानकारी दिनुभयो।
कार्यक्रमको सुरुवात प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनु भएका प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले बिहान प्युठानको गजुरीस्थित सहिद पार्कमा रहेको सहिदको सालिकमा माल्यार्पण गरि गर्नुभएको छ।

प्रतिक्रिया