logo

  • २४ जेष्ठ २०८३, आईतवार | Sun, 07 Jun 2026

  •      Listen Radio Live

    सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

    सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल–भारतबीचका सीमासम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनुभएको हो ।

    एक प्रश्नको जवाफमा परराष्ट्रमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएका दोहोर्याउँदै यस सम्बन्धमा नेपालले भारत र चीनसमक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिनुभयो ।

    “नेपाल–भारतको वर्तमान सीमा सन् १८१६ को सन्धिबाट निर्धारित भएको हो । यी विषयहरू द्विपक्षीय वार्ता र कूटनीतिक संयन्त्रमार्फत समाधान गरिनेछन् । हामी सीमा विवाद कूटनीतिक प्रक्रियाबाटै समाधान गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो ।

    दुई देशका प्रधानमन्त्रीको सहमतिमा गठित समूहले तयार गरेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन उहाँहरूलाई नै बुझाउनुपर्ने बताउनुभयो ।

    अर्को प्रश्नको जवाफमा नेपालले आफ्ना दुवै छिमेकीसँग सहकार्य गर्ने मन्त्री खनालले बताउनुभयो ।

    उहाँले मुलुकका परराष्ट्र नीतिका प्राथमिकता, नेपाल–भारत सम्बन्ध, तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे पनि स्पष्ट गर्नुभयो ।

    यसैबीच, राजदूतावासले सञ्चारकर्मीको सहभागिताप्रति आभार व्यक्त गर्दै नेपाल र भारतबीचको आपसी समझदारी तथा सहकार्यलाई अझ सुदृढ बनाउन आगामी दिनमा पनि निरन्तर संवाद र सहकार्यको अपेक्षा गरेको बताएको छ ।



    mandavionline mandavionline    
  • २४ जेष्ठ २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP