logo

  • २१ माघ २०८२, मंगलवार | Tue, 03 Feb 2026

  •      Listen Radio Live

    प्यूठानमा श्रीमतीको हत्या :भिरबाट खसालेर श्रीमतीको ज्यान लिने दाजुभाई प्रहरीको नियन्त्रणमा

    प्यूठानमा श्रीमतीको हत्या :भिरबाट खसालेर श्रीमतीको ज्यान लिने दाजुभाई प्रहरीको नियन्त्रणमा

    माण्डवी अनलाइन, प्युठान ।

    प्यूठानको गौमुखी गाउँपालिका–६ लिबाङमा परपुरुषसँग सम्बन्ध रहेको आशंकामा एक युवकले आफ्नै भाइसँग मिलेर श्रीमतीको हत्या गरेका छन् ।

    २० वर्षीय अनिल घर्तीले १८ वर्षीय भाइ जनक घर्तीको सहयोगमा १९ वर्षीया श्रीमती शर्मिला घर्तीको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । दुई वर्षअघि मात्र प्रेम विवाह गरेका अनिल र शर्मिलाबीच पछिल्लो समय श्रीमतीको अन्य पुरुषसँगको सम्बन्धलाई लिएर घरमा पटक-पटक मनमुटाव र झगडा हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीका अनुसार गत माघ १६ गते राति करिब ८ बजे अनिल र जनकले शर्मिलालाई घुम्न जाने बहानामा घरबाट करिब ६०० मिटर टाढा कालिमाटी गोद्रे चौरमा लगेका थिए । सोही स्थानमा श्रीमान्-श्रीमतीबीच पुनः विवाद सुरु भएपछि अनिलले आवेशमा आएर शर्मिलाको टाउको त्यहाँ रहेको फलामको रेलिङमा ठोक्काइदिएका थिए । टाउको ठोक्किएर शर्मिला बेहोस भएपछि दुवै दाजुभाइले उनलाई कालिमाटी भिरबाट तल खसालिदिएका थिए । भिरबाट खसाल्ने क्रममा शर्मिलाको शव र उनले लगाएको स्विटर सुरुमा एउटा बाँझको रूखमा अड्किएको थियो ।

    त्यसपछि अनिल आफैँ तल ओर्लिएर पुनः शर्मिलालाई भिरबाट तल धकेलिदिएका थिए । करिब १०० मिटर तल खसेपछि शर्मिलाको मृत्यु भएको सुनिश्चित गरी उनीहरूले शवलाई त्यहीँ छाडेर घर फर्केका थिए । माघ १७ गते दिउँसो २ बजे कालीमाटी जंगलमा शव फेला परेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो ।

    घटनास्थलबाट मृतकको चप्पल  बरामद गरिएको छ भने हत्यामा संलग्न श्रीमान र देवर दुवैलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



    mandavionline mandavionline    
  • १९ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP