प्यूठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रसम्मका अधिवेशन प्रक्रिया असोज ३ गतेदेखि सुरु हुने भएको छ। नेपाली कांग्रेस प्यूठानले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रको निर्धारित तालिकाअनुसार जिल्लामा पनि अधिवेशनसम्बन्धी कार्य प्रारम्भ हुने जनाएको हो।
नेपाली कांग्रेस प्यूठानका सभापति विष्णु कुमार गिरीद्वारा जारी विज्ञप्तिमा देशभर बाढीपहिरो तथा विपद्का कारण नागरिकले ज्यान गुमाउनुका साथै बेपत्ता र विस्थापित हुनुपरेकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरिएको छ। साथै, विपद्का कारण समस्यामा परेका नागरिकको खोजी तथा विस्थापितहरूको सहज जीवनयापनका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ।
विज्ञप्तिमा देशमा विषम परिस्थिति रहे पनि नेपाली कांग्रेसको अनिवार्य महाधिवेशन सम्पन्न गर्नुपर्ने कानुनी बाध्यतालाई ध्यानमा राख्दै पार्टी केन्द्रको निर्धारित कार्यतालिकाअनुसार प्यूठानमा समेत अधिवेशन प्रक्रिया अघि बढाइने उल्लेख छ।
नेपाली कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि लामो राजनीतिक यात्रा तय गरेको विज्ञप्तिमा दाबी गरिएको छ। पछिल्लो समय मुलुकमा देखिएका राजनीतिक तथा सामाजिक चुनौतीका बीच पनि पार्टीले आफ्नो संगठनात्मक प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता रहेको कांग्रेस प्यूठानको भनाइ छ।
विज्ञप्तिमा सरकारले कार्यभार सम्हालेको करिब छ महिना बितिसक्दा पनि लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका सवालमा गम्भीर चुनौती देखिएको तथा पछिल्लो बिनाशकारी बाढीका समयमा समेत उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीप्रति प्रश्न उठाइएको छ। यी विषयलाई नेपाली कांग्रेस प्यूठानले सरकारको कार्यसम्पादनसँग जोडेर आलोचना गरेको छ।
कांग्रेस प्यूठानले नेपाली कांग्रेसलाई देशकै जिम्मेवार राजनीतिक शक्तिका रूपमा सबैले भरोसा गरेको उल्लेख गर्दै आगामी महाधिवेशनलाई एकताबद्ध भएर सफल बनाउन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेको छ।
असोज ३ गतेदेखि सुरु हुने १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै पार्टीलाई थप सशक्त र सुदृढ बनाउन सबैलाई सहयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
प्रतिक्रिया